ल्होछार विवाद कायमै : माघ ४ कि फागुन ४ ?
-सन्देश थिङ
मकवानपुर, १ माघ । हरेक वर्ष माघ शुक्ल पक्ष प्रतिपदाका दिन मनाईँदै आइएको ल्होछार यस वर्ष माघ ४ गते मनाईने नेपाली पात्रोमा उल्लेख छ । तर नेपाल तामाङ घेदुङले यो वर्ष सोनाम ल्होछार फागुन ४ गते ग्याल्पो ल्होछारको दिन पर्ने दाबी गरेपछि तामाङ समुदायमा नै ठूलो विवादको रुप लिएको छ ।
सोनाम ल्होछारकै विवादका कारण तामाङ घेदुङले राखेको भन्दा फरक मत राखी माघ ४ गते नै सोनाम ल्होछार मान्नुपर्छ भन्ने अडानमा बसेका घेदुङका उपाध्यक्ष अजितमान तामाङलाई समेत कारवाही गर्ने निर्णय गरिसकेको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले चन्द्रपात्रो अनुसार यो वर्ष ल्हो फिर्ने दिन फागुन ४ गते नै पर्ने भएकोले ल्होछार उक्त दिन परेको प्रष्ट पारिसकेका छन् भने तर उपाध्यक्ष तामाङका अनुसार तामाङ समुदायमा ल्हो (वर्ष) पोबा (फेर्ने) दिन भन्ने मान्यता भएकोले माघमा नै ल्होछार पर्ने बताए । नेतृत्व तहमा नै विवाद भएपछि तामाङ समुदाय भने सोनाम ल्होछार मनाउने विषयमा तिथि र मितिमा अल्झिएका छन् ।
केही तामाङहरुले अब सोनाम ल्होछार छैन ग्याल्पो नै मनाउनुपर्छ रे भन्ने अष्पष्ट विचार पनि पोखेका छन् । तर सोनाम र ग्याल्पो ल्होछार दुबै चन्द्र पात्रो÷मञ्चुश्री पात्रो÷लुनार क्यालेण्डर वा पात्रो÷कारची वा चन्द्रमासमा आधारित पात्रोकै आधारमा मानिने हुँदा यी यसपाली सोनाम ल्होछार नभई ग्याल्पो भएको भन्ने भ्रममा नपर्न सल्लाह दिइएको छ । यस विषयमा तामाङ घेदुङले समेत ढिला जानकारी दिएका कारण यो विवाद थप चुलिएको छ ।
नेतृत्व तह विवादमा तानिए पनि अधिकांश तामाङ समुदायले भने माघदेखि फागुन सम्मै ल्होछार मनाउने प्रतिक्रिया दिएका छन् । मकवानपुरका विभिन्न गुम्बाका लामा प्रमुख तथा गुरुहरुले सोनाम मनाउनेले माघ ४ मै र ग्याल्पो मनाउनेले फागुन ४ गते नै ल्होछार मनाउने प्रतिक्रिया दिएका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै देछेन छ्योइलिङ गुम्बा, हेटौँडा ४ कमल डाँडाका प्रमुख लामा गुरु टुल्कु लामा (छुल्ठिम दोर्जे)ले आफुहरुले चाँही फागुन ४ गते ग्याल्पो ल्होछार नै मनाउने गरिएको बताए । उनका अनुसार सोनाम ल्होछार अन्नबाली भित्राउने बेलामा बौद्धमार्गीहरुले मनाउने गर्छन् भने ग्याल्पो चाँही राजाहरुले शुरु गरेको उनले बताए ।
त्यस्तै डोदोन छ्योइलिङ गुम्बा संरक्षण समिति नेवारपानीका लामा गुरु सोइनम दोर्जे लामा (सुनविर लामा) ले मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होछार ग्याल्पो ल्होछारमा यो वर्ष गाभिएको देखिएको बताए । तर हरेक वर्ष माघ शुक्ल पक्ष प्रतिपदाका दिन नै ल्होछार मनाईदै आइएकोले आफुहरुले पनि माघ मै ल्होछार मनाउने कार्यक्रम राखेको उनले बताए ।
त्यस्तै पेमा डुपकी लिङ गुम्बा समिति नेवारपानीका अध्यक्ष प्रेमबहादुर बलले ल्होछारमा विवाद गर्नुभन्दा पनि बौद्धमार्गीले मात्र नभइ सबै नेपालीले आस्थाका साथ एकरुपमा समावेशी भई मनाउनुपर्ने विचार पोखे । त्यस्तै सेर्तुग गुम्बा संरक्षण समिति बसामाडीका लामा गुरु ऋद्धिलाल (उर्गेन दोर्जे लामा) ले भने फागुन भरि नै ग्याल्पो ल्होछार मनाउने प्रतिक्रिया दिए ।
त्यस्तै रिकेश्वरी आयुर्वेदिक जडीबुटी तथा औषधि केन्द्रका संचालक समेत रहेका बौद्धमार्गी बच्चुराम घलानले ल्होछारलाई मिलेरै मनाउनुपर्ने धारणा राखे । उनले विदेशी संस्कृतिका धर्म र चाडपर्व समेत नेपालमा मनाईसकिएको अवस्थामा हाम्रो आफ्नै धर्म र चाडपर्व मनाउने र मान्ने कुरामा विवाद गर्न नहुने उनको तर्क छ ।
त्यस्तै धर्मचक्र महाकरुणी बुद्ध विहार हेटौँडा ९ सिमेन्टरोडका प्रमुख गुरु सेरप दोर्जे (कुमार लामा) ले मञ्जश्री पात्रो अनुसार यो वर्ष सोनाम र ग्याल्पो ल्होछार फागुनमा परेको देखिएको बताए तर नेपाली क्यालेण्डर अनुसार माघमा रहेकोले यसमा नेपाल पञ्चाङ्ग निर्णायक समितिको गल्ति रहेको बताए ।
त्यस्तै लामा गुरु लर्निङ लामाले ल्होछारालाई जातियता आधारमा भन्दा पनि सबै मिलेर मनाउनुपर्ने धारणा राखे । त्यस्तै ह्रिग्याल छ्युलिङ गोन्पा पदमपोखरी बेलडाँडाका लामा गुरु धावा फेन्चु लामाले सोनाम ल्होछार माघ ४ गते नै मनाउने बताए ।
त्यस्तै नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले तामाङ घेदुङले मञ्जुश्री पात्रोकै आधारमा ल्होछार मनाउने निर्णय गरेकोले फागुन ४ गते नै ल्होछार मनाउनुपर्ने बताए । सबै बौद्धमार्गी र नेपाली समुदायलाई एकतामा बाँध्ने चाडमा विवाद गर्ननहुने उनको भनाइ छ ।
साभार–पुस ३० गते प्रकाशित समावेशी चिन्तन साप्ताहिकबाट
