प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : डा. केसी

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार ०७:२१
Photo: The himalayan Times बाट साभार

काठमाडौँ, ३० पुस । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएको खबर आजको नयाँ पत्रिकामा छ ।

‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए । ‘अहिले डिन अर्कै व्यक्ति बनाउने खेल भइरहेको छ,’ केसीले भने, ‘अग्रवालले बाँकी तीन वर्षको कार्यकाल सम्हाल्नेछन्, त्यसमा चलखेल भए परिणाम राम्रो हुनेछैन।’

प्रा.डा. केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् ।

मर्न तयार भएको व्यक्ति एक वर्षको जेलले असर गर्दैन
केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्‍यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । मलाई एक वर्ष होइन, पाँच वर्ष जेल हाल्दा पनि हुन्छ ।’ चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पक्षमा मर्न तयार भएर लडेको व्यक्ति जेल बस्नबाट पछि नहट्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*