पुख्र्यौली पेशा जोगाउन माटाका भाडा बनाउदैं पाल्पाका युवाहरु
पाल्पा, २९ पुस । पुख्र्यौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिका–६, तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमाल माटाका भाडा बनाउन जुटेका छन् ।
कुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि सोमबहादुरले माटोको भाडा बनाउने अभियानमा जु्टेका हुन । माटाका भाडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो उनको छ ।
भाडा बनाउनका लागि उपयुक्त पहेँलो चिप्लो नरम माटो निकाल्ने ठाउँमा सुरक्षा बेस क्याम्प बसेपछि माटाका लागि समस्या बढेको हो । निजी जग्गामा भाडा बनाउनका लागि माटो दिँदैन, सोमबहादुरले दुखेसो पोखे ।
जाडोको समयमा मकै भुट्न, शुभकार्यमा समेत उपयुक्त मानिने हाडी, गर्मीयाममा चिसो पानी पिउनका लागि उत्तम मानिने घैँटो, खुत्रुके, हाडालगायतका माटोका भाडाको माग बढेको छ ।
माटाका त्यस्ता भाडालाई रु ३०० देखि एक हजार ५०० सम्म स्थानीय बजारमा बिक्री हुने गर्छ । पहिला पहिला गाउँगाउँ भारी बोकेर धान, मकै गहुँलगायत अन्न बालीसँग साटिने भाडा अहिले घरबाटै बिक्री हुन थालेपछि कुमालले मासिक रु तीन चार हजार आम्दानी गर्छन् ।
कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिनका लागि यस पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नुपर्नेमा सोमबहादुरले जोड दिए ।
विसं २०६८ को जनगणनाअनुसार पाल्पामा कुमाल समुदायका जनसंख्या तीन हजार ६९५ छ । पाल्पाका रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहे पनि कुमाल समुदायका मानिसले माटाका भाडा बनाउन पेशाबाट विस्थापित बन्दै गएका छन् ।
