बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना तयार

तु खबर संवाददाता
२०७४ पुष २९, शनिबार १२:३०

बैतडी, २९ पुस । बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।

आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो ।

गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिएको छ, कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले भने, “बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा रहेकाले बालविवाह न्यूनीकरणका लागि यो रणनीतिक योजना तयार पारेका हौँ ।”

योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरुका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।

सो रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानूनविरुद्धको कार्य भए पनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी परेको छैन् भने ।

उनले भने “बालविवाह न्यूनीकरणका लागि ग्रामीणस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*