एम्नेष्टी हेटौंडामा नयाँ कार्यसमिति, तीर्थदेवी सिलवाललाई सम्मान
मकवानपुर, २८ पुस । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाको १८ औं बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले बिजयकुमार बैद्यको संयोजकत्वमा २ बर्षका लागि ९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
समितिको सहसंयोजकमा उत्तम शर्मा ढकाल, सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा आशा ढकाल, सहसचिवमा प्रल्हाद घिमिरे तथा सदस्यहरुमा रेणु ज्ञवाली, अक्कलसिँ लामा, त्रिलोक्य मोहन ठिके र शशि दाहाल रहेका छन् ।
कार्यक्रममा ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मानबाट तीर्थदेवी सिलवाललाई सम्मानित गरिएको छ । सभामा प्रतिनिधी सभा साँसद दाहालले सिलवाललाई ७ हजार ५ सय रुपैंयासहित सम्मान पत्र प्रदान गरे । गतबर्ष ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मानबाट अधिवक्ता रामकृष्ण देउवा सम्मानित भएका थिए ।

सम्मान ग्रहण गरेपछि तीर्थदेवी सिलवाल
कार्यक्रम प्रतिनिधी सभा साँसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्य तथा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका संयोजक ह्यग्रिव आचार्यको सभाध्यक्षतामा भएको थियो । कृषि तथा बन विश्वबिद्यालयका डीन डा. बलराम भट्टको बिशेष आतिथ्य रहेको कार्यक्रमका एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका पूर्व संयोजकहरु जीवनकाजी माकजु श्रेष्ठ, विश्वनाथ रेग्मी, बिजेन्द्र अग्रवाल लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७ हेटौंडाका सचिव हेमन्त ढुङ्गेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रकाश ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा निवर्तमान कार्यसमिति, सल्लाहकारलाई मायाँको चिनो र तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो । मानव अधिकारको क्षेत्रमा क्रियाशील बिश्वकै ठूलो अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलको नेपालमा करिब ७ हजार सदस्य रहेका छन् ।
