विभिन्न क्षेत्रमा विजयी शेयर सदस्यलाई दिव्यताराको सम्मान
मकवानपुर, २६ पुस । दिव्यतारा बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा विजयी भएका शेयर सदस्यलाई स्वागत एवम् सम्मान गरेको छ ।
बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सहकारीका संस्थापक शेयर सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा क्याम्पसको उपाध्यक्ष पदमा चयन भएका सहकारीका बोर्ड सदस्य आनन्दराम पराजुलीसहित मउवा संघको अध्यक्ष पदमा विजयी भएका कृष्ण कटुवाल, एशोसियट तर्फको उपाध्यक्षमा विजयी भएका सहकारीका सचिव गणेश भेटवालसहितलाई सम्मान र स्वागत गरेको हो ।
त्यस्तै मउवा संघको विभिन्न पदमा विजयी सहकारीका शेयर सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्यायलगायतले खादा, टीका र माला लगाएर स्वागत एवम् सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बानियाँले विजयी सबैलाई बधाई दिँदै पार्टीले आफूलाई विपक्षी दलको नेता बनाउने विश्वास व्यक्त गरे । मुलुक अब नयाँ ढंगले अघि बढेको बताउँदै उनले अब स्थायी सरकार निर्माण हुने बताए । यस्तै सहकारीका अध्यक्ष डीनाले सहकारीमा आबद्ध रहेका शेयर सदस्यहरु विभिन्न व्यवसायिक संस्थासंगै राजनीतिमा समेत अब्बल रहेको दावी गरिन् । उनले सहकारीलाई कृषि, पर्यटनलगायतको क्षेत्रमा समेत विस्तार गर्न लागेको जानकारी दिइन् । डीनाले वृहत्तर रुपमा सहकारीलाई गाउँगाउँमा लैजाने बताउँदै उनले विभिन्न देशमा रहेका सहकारीसंग समेत समन्वयको लागि छलफल भैरहेको बताइन् ।
कार्यक्रममा हेटौंडा क्याम्पसका उपाध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, सहकारीका उपाध्यक्ष डा. गणेश बल लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
