झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन
– मीना घोरसाइने
काभ्रे, २५ पुस । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा ।
झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने । त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिनुहुन्छ, समिता श्रेष्ठ ‘पूरा’ । उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो ।
“कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भन्नुभयो, “ढल्ने

शब्दयात्रा प्रकाशनद्वारा प्रदान गरिएको सम्मान ग्रहण गर्दै बनेपा नगरपालिका–४ शेराकी चारैवटै हातखुट्टा नचल्ने उपन्यासकार समिता ७नतसेष्ठ “पूरा” । तस्बिर : मीना घोरसाइने, काभ्रे, रासस
बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उहाँले बताउनुभयो । पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्नुहुन्न भने ओछ्यानमा मात्रै सीमित हुनुहुन्छ । उहाँलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उहाँले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनुहुन्छ भने फेसबुकसमेत चलाउनुहुन्छ । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेख्नुभएको छ ।
उहाँको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहनुभएकी उहाँकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आउनुभएको थियो । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताउनुभयो । पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्नुहुन्न । उहाँको सेवाका लागि उहाँकी आमा सावित्री खटिनुहुन्छ । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसक्नुभएको र बाहिरी दुनियाँबाट समेत अलग्गिनुभएको पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उहाँ आफैँले राखेको साहित्यिक उपनाम हो ।
समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्नुहँुदै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो ।

लघु उपन्यास “नयाँ सोच” पुस्तकको बिमोचनका क्रममा आफ्नी आमासँग रहेका लेखिका बनेपा नगरपालिका ४ शेराकी समिता श्रेष्ठ “पूरा” । तस्बिर : मीना घोरसाइने, काभ्रे, रासस
“परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भन्नुभयो । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उहाँले बताउनुभयो ।
पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उहाँले २६ वटा भागमा विभाजन गर्नुभएको छ । उपन्यासमा उहाँले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिनुभएको छ भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गर्नुभएको छ । –
