एकछत्र राज गर्नेहरुको बिरुद्धमा मेरो उम्मेदवारी : शालिकराम ढकाल
व्यवसायीक हितका लागि डटेर लाग्छु ,
मकवानपुर २३ पुस । आसन्न पुस २७ हुने नारायणी यातयात व्यवसायी संघको निर्वाचनमा वर्तमान सचिव समेत रहेका शालिकराम ढकालले पुन सचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । संघमा रहँदा व्यवसायीको हकहितका लागि काम गर्दै आएको दाबी गर्ने ढकालले पुन सचिव पदमा उम्मेदवारी दिएका हुन् । तु खवरले उनको उम्मेदवारीको विषयमा जिज्ञासा राख्दा उनले आफु पुन : यातायात व्यवसायीको सेवाको लागि चुनावी मैदानमा उत्रिएको बताए । उनले आफु विजयी भएको खण्डमा गर्ने कामहरुबारे र आफ्ना योजनाहरु पनि तु खवर मार्फत सार्वजनिक गरेका छन् ।

उनले नेपालमा भारतीय गाडीहरु चलेको कारण यहाँका यातायात व्यवसायीहरुलाई असर परिरहेको बताउँदै भारतीय गाडीहरु नेपालमा चल्न नदिने वातावरण तयार पार्ने आफ्नो योजना रहेको बताएका छन् । ठुला १४ चक्का भएका गाडीहरु दर्ता भएको कारण साना गाडीहरु विस्थापित भईरहनुपर्ने अवस्था छ । त्यसको लागि पनि आफ्नो विशेष ध्यान जाने उनले बताए ।
साथै उम्मेदवारीको बिषयमा समेत ढकालले विभिन्न धारणा राखेका छन् । नारायणी यातायात व्यवसायी संघमा लामो समय देखि पुराना मानिसहरुले एकछत्र रुपमा राज गरीरहेको अवस्था छ । व्यसायीक हितका लागि काम नगर्ने अनि पद ओगटेर वस्नेहरुको अन्त्यको लागि र नयाँ पुस्ताको नेतृत्व विकासको लागि आफु गोर्कण प्रसाद पराजुलीको प्यानलबाट निर्वाचनमा उठेको उनको भनाइ छ । सबै ससक्त र जुझारु टिम देखेर आफुपनि यतैबाट निर्वाचनमा उठेको उनको भनाई छ ।
हालको यातायात व्यवस्थापनको अवस्था निकैनै अस्तव्यस्त रहेको कारण त्यसको अन्त्यका लागि आफुले विशेष रुपमा काम गर्ने उनको धारणा छ । व्यवसायीहरुबाट निकैनै उत्हासपुर्ण साथ र चुनावी सहयोग जुटिरहेकोले आफुले जित्नेमा ढुक्क रहेको बताउँदै व्यवसायीको यो साथको कदर गर्दै भोलिका दिनमा व्यवसायीको जस्तोसुकै समस्याको समाधानको लागि डटेर लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
