शर्माले चाहेमा चार दिनका लागि डिन नियुक्त गर्न अदालतको आदेश
काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले आज एक मुद्धामाथि सुनुवाई गर्दै त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन सस्थानको डिनबाट बर्खास्त गरिएका प्रा. डा. शशी शर्मालाई उनले चाहेमा चार दिनको लागि मात्रै भएपनि पुनःवाहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले सुरु नियुक्तिको मितिदेखि गणना गर्दै अव समय सकिन चार दिनमात्र भएको भन्दै यदि उनले चाहेमा चार दिनका लागि पुनः वाहाली गर्न आदेश भएको हो ।
त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा डा शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।
परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा डा राकेशप्रसाद श्रीवास्तवलाई नियुक्ति गरेपछि शर्मा न्यायका लागि ०७० साल फागुन १ गते सर्वोच्च अदालत गएका थिए । शर्माले सर्वोच्चको फैसलाले आफूले न्याय पाएको बताएका छन् ।
