पदमपोखरीमा धमाधम सडक बिस्तार र स्तरीकरण हुँदै
-चन्द्र घलान
मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र उनको टिमले वडावासीको मन जित्दै विभिन्न विकासका योजनाहरु अगाडि बढाएका छन् ।
आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटलाई उचित महत्वका साथ आवश्यक योजनामा लगानी गर्दै वडाअध्यक्ष घलानको समूहले विकासका कार्यमा जोड दिएका हुन् । अहिले वडा नम्बर १२ का विभिन्न स्थानहरुमा नयाँ सडकको ट्रयाक खोल्ने, स्ल्याब हाल्ने, अस्थायी पुल बनाउने, बाटोको स्तरीकरण गर्ने, खानेपानीको व्यवस्था गर्ने तथा विद्यूतको उचित विस्तार गर्ने योजनाहरु अगाडि सारिएका छन् । कतिपय स्थानमा कार्य पनि सम्पन्न गरिसकिएको अध्यक्ष घलानले जानकारी दिए ।

पदमपोखरी गुरौविर्ता र नवलपुर जोड्ने अस्थाई पुल
केही दिन अघि मात्रै हेटौँडा १२ पान्तले चोकदेखि बेलडाँडा जाने ओरालो बाटोमा १० लाख बजेटको स्ल्याब निर्माण भएको छ । बर्खाको समयमा पदमपोखरी–हेटौँडा रुटमा चल्ने सार्वजनिक सवारी र स्थानीयलाई समेत हिँड्न अप्ठयारो भएपछि स्ल्याब निर्माण गरिएको हो । ६ मिटर चौडाई र करिब १७ ईन्च मोटाईको १ सय २४ मिटर लामो स्ल्याब निर्माण भएको हो जुन अब केही दिनमा संचालनमा आउने छ ।
त्यस्तै हेटौँडा–१२ गुरौविर्ता कल्याण्टार हुँदै हेटौँडा ११ नवलपुर जोड्ने झोलुङ्गे पुलसम्मको बाटोलाई स्तरीकरण गर्ने काम पनि सकिएको छ । करिब ५ लाख बजेटमा बाटो खनिएको अध्यक्ष घलानले जानकारी दिए । त्यस बाटोमा ग्रेबल गरिनुका साथै ठाउँ–ठाउँमा हिम पाईप राखेर बाटोलाई सहज बनाइएको छ । बाटोलाई अझ स्तरीकरण गर्नको लागि स्थानीय राजु लामिछानेको अध्यक्षतामा बाटो निर्माण समिति समेत गठन गरिएको छ । यो बाटो निर्माण भएसँगै स्थानीयले खेतको डिलैडिल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पदमपोखरी कल्याण्टारदेखि झोलुङ्गे पुलसम्मको बाटो
वडा अध्यक्षसहितको समूहकै रोहोबरमा गुरौबिर्ता र नवलपुरलाई छुटाउने राप्ती खोलामा हिम पाईप राखेर अस्थाई रुपमा हिँउदे पुल समेत निर्माण गरिएको छ । त्यहाँका स्थानीयहरुलाई एम्बुलेन्स् जस्ता अत्यावश्यक सेवा लिन समेत अप्ठ्यारो भएका कारण अस्थायी पुल निर्माण गरिएको हो । अस्थायी पुल निर्माण भएसँगै एम्बुलेन्स्, साईकल, मोटरसाईकल तथा अटो जस्ता सवारी साधन पनि सजिलै आवतजावत गर्न सक्ने भएको अध्यक्ष घलानले बताएका छन् ।

बाटो निर्माणस्थलमा वडा अध्यक्ष ललित घलानसहितको समूह
१२ नम्बर वडाकै आँपधापबाट राप्तीखोलासम्म जाने नयाँ ट्रयाक पनि खोलिएको छ । ३ लाख ५० हजार बजेटमा नयाँ ट्रयाक खोलिएको हो । नयाँ ट्रयाक खोल्नुका साथै सडक स्तरीकरणले पदमपाखेरीलाई विकासको गतिमा जानबाट अब रोक्ने नसक्ने वातारण बनेको छ । यस अघि नै १२ नम्बर वडाको रमण्टार र तिनताप्के जोड्ने पक्की पुल समेत निर्माण भई सञ्चालनको अन्तिम तयारीमा रहेको छ । यससँगै अन्य विभिन्न योजनाहरु पनि सुरु गर्ने योजनामा रहेको वडाअध्यक्ष घलानले बताएका छन् ।
