आँचलको वार्षिकोत्सवमा साहित्यकार प्रतिमा पाठक र पत्रकार अधिकारी सम्मानित
मकवानपुर, २३ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी छिन् ।
मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले ‘बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४’ बाट शनिबार हेटौंडामा सम्मान गरेको हो । आँचलको ५ औं वार्षिकोत्सव कार्यक्रममा कथाकार माया ठकुरीले पाठकलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेकी हुन् । उनलाई सम्मानसहित नगद १० हजार १ रुपैयाँ नगद प्रदान गरिएको थियो ।
समाजसेवी हरिवंश भेटवालले मातापिताको स्मृतिमा सम्मान स्थापना गरेका हुन् । उनले आँचल मार्फत् मातापिताको नाममा १ लाख २१ हजार १ सय २१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । जसको ब्याजले ३ नम्बर प्रदेशमा रहेर साहित्यिक क्षेत्रमा क्रियाशिल एक जना महिलालाई प्रत्येक वर्ष सम्मानित गरिने आँचलकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् ।

यसैगरी पत्रकारितामार्फत् साहित्यिक क्षेत्रमा पु¥याएको योगदनको कदर गदै पत्रकार ध्रुव अधिकारीलाई सम्मान गरिएको छ । प्रमुख अतिथि समेत रहेकी कथाकार ठकुरीले सम्मानपत्र प्रदान गरेकी थिइन् । उनलाई नगद ५ हजार प्रदान गरिएको छ । कार्यक्रममा स्थापना कालदेखि आँचललाई सहयोग गर्ने नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ र टेम्पो तथा मझौला यातायात व्यवसायी संघलाई पनि सम्मान गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि कथाकार माया ठकुरी, अक्षयकोषदाता हरिवंश भेटवाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेश भेटवाललाई पनि सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा सचिव अनिता न्यौपाने र कोषाध्यक्ष निर शर्माले प्रस्तुत गरेको प्रतिवेदन सर्वसहमत पारित भएको छ ।
आँचलकी अध्यक्ष अप्सरा तिम्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ठकुरीले साहित्यमा विगत र वर्तमान अवस्थाको बारेमा बोलेकी थिइन् । वार्षिकोत्सव समारोह समितिका कार्यक्रम संयोजक सुभद्रा हुमागाईंले स्वागत, उपाध्यक्ष पूर्णकला घिमिरेले आँचलको बारेमा बोलेकी थिइन् । । यसैगरी कोषाध्यक्ष निरा शर्माले सम्मानित साहित्यकार पाठकको बारेमा बोलेकी थिइन् ।
कार्यक्रममा साहित्यकार आरसी रिजाल, रुकु कार्की, निमेष निखिललगायतले मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा रचना वाचन पनि भएको थियो ।
