थाहा नगरमा जेसिज शौचालयको बिजोग

तु खबर संवाददाता
२०७४ पुष २३, आईतवार १२:२९

-मञ्जरी बलामी
मकवानपुर, २३ पुस । उत्तरी मकवानपुरको थाहा नगरपालिका रहेको पालुङ जेसिजको शौचालयको बिजोग भएको छ । सेफ्टी ट्यांकी निर्माण गर्न नसक्दा जेसिज शौचालयको बिजोग भएको हो ।

राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्छन् भनिएता पनि युवा नेतृत्वको विकासकोलागि लागी परिरहेको पालुङ जेसिजको ब्यवस्थापनको कमजोरी प्रति हाल जनमानसले प्रश्न उठाउन थालेका छन् । थाहा नगरपालिका जाने नगरपालिका रोड नजिकै रहेको पालुङ जेसिजको भवनसगैं महिला र पुरुष दुबैको लागि शौचालयको ब्यवस्था गरिएको छ । तर शौचालयको दिशा पिसाब जम्मा हुने सेफ्टी ट्याङकी भने अब्यवस्थित बनेको छ । लाखौँ खर्च गरेर सभाहल निर्माण गर्न सक्ने जेसिजले एउटा ब्यवस्थित सेफ्टी ट्याङ्की निर्माण गर्न सकेन भनौ या ब्यवस्थित सेफ्टी ट्याङ्की निर्माण गर्न आवश्यक ठानिएन भन्ने बारेमा स्थानीयले नै कुरा गर्न थालेका छन् ।

आवश्यकता टार्नको निम्ति खाल्डो खनेर दिसापिसाब जम्मा गर्ने तथा काम चलाउको रुपमा भवन निर्माणको समयदेखि नै प्रयोगमा रहेको उक्त ट्याङ्की छोपीएको पाता खिइनु तथा त्रिपाल च्यातिनुका कारण खुल्ला प्रदुषित भएको छ । खुल्ला हुनु त छँदै छ त्यसमाथि पनि हाल नजिकका खेतबारी तथा नहरबाट आएको पानी सिधै उक्त ट्याङ्कीमा पुगी ट्याङ्की भरिएर सडकमा पानी बग्न थालेपछि जेसिज बिरुद्ध प्रश्नहरु उठ्न थालेको हो ।

तस्बिर–गुगल

खाली स्थानमा घरपालुवा जनावर अथवा मानिस नै झुक्किएर परेर त्यहाँ केही घटना घटेमा कसले जिम्मा लिने भन्दै स्थानीयले समेत शौचालयको टिकाटिप्पणी गर्न थालेका छन् । एक त नगरपालिका जाने रोडैमा नालीको पानी बग्नु र अर्को त पालुङ् बहुमुखी क्याम्पस आवत जावतको बाटोमै पर्ने भएको कारण उक्त बिषयले चर्को रुप लिएको हो । यस बिषयमा किन ध्यान गएन त भनि सोधिएको प्रश्नमा पालुङ जेसिजका बोर्ड अफ ट्रसका अध्यक्ष तथा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली भन्छन् –‘ध्यान त गएकै हो तर बजेट नभएको कारण काम हुन नसकेको हो , तर अहिले सबै सदस्य संग पैसा उठाउने कार्य भैरहेको र तत्काले बैठक बसी उक्त समस्यालाई समाधान गर्ने छौ ।’

त्यसो त उप प्रमुख गोपालीले जेसिजको लागि नगरपालिकाबाट बजेट समेत बिनियोजन गर्ने भन्ने कुरा जेसिजको १७ औं वार्षिक साधारण सभा मार्फत घोषणा समेत गरेका थिए । पालुङ जेसिज वर्ष २०१७ का अध्यक्ष तथा आइ टी.टी अञ्जल प्रधान पनि बजेट अभाव कै कारण सेफ्टी ट्याङ्कीलाइ ब्यवस्थित गर्न नसकिएको बताउँछन् । जेसिजको आफ्नो कार्यक्रम र आस्थालाई नजिकका छिमेकी गाउँपालिका क्षेत्रमा पनि विस्तार गर्नु पर्ने कुरा हँुदै गर्दा जेसिजले ब्यवस्थापनको बिषयलाइ बढी ध्यान दिनु पर्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*