मकवानपुरको राईगाउँमा पहिलो पटक वाईफाई
-चन्द्र घलान
मकवानपुर, २२ पुस । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बाग्मती गाउँपालिका वडा नम्बर १ माझगाउँमा पहिलो पटक वाईफाई सेवा पुगेको छ । त्यहाँस्थित वडाको एकमात्र माध्यमिक विद्यालय सूर्य माध्यमिक विद्यालयमा वाईफाई जडान भएसँगै ईन्टरनेट सेवा पुगेको विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए ।
ईन्टरनेट सेवा प्रदान गर्नको लागि विद्यालयमा टावर निर्माण भएको केहीदिन पछि शनिबारदेखि सेवा संचालनमा आएको हो । नेपाल दुरसञ्चार प्राधिकरणवाट भुकम्प अति प्रभावित जिल्लाहरुमध्ये धादिङ ,गोरखा र मकवानपुर गरी ३ जिल्लामा ग्रामिण दुरसंचार विकासकोषको परिचालन गरि इन्टरनेट ब्रोडब्याण्ड कनेक्टीभिटी पुराउने उद्देश्यले ईन्टरनेट प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिलाई छनौट गरि सेवा दिन खटाइएको थियो ।
भुकम्प प्रभावित ३ जिल्लाहरुमा रहेका उच्च माध्यमिक विद्यालय ,माध्यमिक विद्यालय ,सार्वजनिक स्वास्थ्य केन्द्रहरू तथा गाउँपालिकाका साथै नगरपालिकाका वडा कार्यालयहरुमा कम्तिमा ५१२ केबिपीएसको ईन्टरनेट डाटा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने प्रावधान अनुसार बाग्मती गाउँपालिकामा उक्त विद्यालयबाट सेवा सुरु भएको हो ।
विद्यालयमा सेवा जडान भएसँगै राईगाउँमा रहेको बाग्मती मावि, स्वास्थ्य चौकी र पुरानो गाविस भवनमा समेत शनिबार नै सेवा सुचारु हुने प्रअ राईले जानकारी दिए ।
