नदी सफा राख्न निर्देशन

तु खबर संवाददाता
२०७४ पुष २२, शनिबार ११:३२

मलेखु, धादिङ, २२ पुस । पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तह सञ्चालन कार्यविधि र विपद् व्यवस्थापनसम्बन्धी कार्यशालामा गाउँपालिका र नगरपालिकाका प्रमुखले अनियमित गतिविधिका कारण वातावरण संरक्षणमा ह्रास आएको कुरा उठाएपछि प्रजिअ श्याम भण्डारीले अनियमित सबै गतिविधि रोक्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
गल्छी गाउँपालिका सबैभन्दा बढी फिरफिरे सञ्चालन भएर पनि व्यवस्थित नभएको बजारका रुपमा रहेको छ । सडक किनारामा बालुवा धुने यन्त्र राखेर बालुवा धुने गर्दा सडकमा पानी चुहिएको छ । चिसो बालुवा परेर सडक हरेक वर्ष भत्किएको तथा बालुवाका कारण धुलो उडेर मोटरसाइकलमा सवार गर्नेलाई सास्ती हुने गरेकाले सडक सुरक्षित बनाउनुपर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति भक्त लामाले बताउनुभयो ।

पानी परेका बेला पैदलयात्रुले सडक पार गर्ने नसक्ने, सडक अवरुद्ध हुने तथा सवारी साधनसमेत दुर्घटना हुने गरेर राजमार्ग नै क्षतविक्षत भएको छ । बिग्रिएको सडक बनाउनुपर्ने, वातावरण सुरक्षित गर्नुपर्ने, सडक सीमाबाट टाढा राखेर उद्योग सञ्चालन गर्नुपर्ने र सो कार्य गाउँपालिकाले नियमन गर्नुपर्ने भएकाले गाउँपालिकालाई नियमन गर्न आग्रह गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रको बैरेनी खण्ड मात्र होइन, अठ्ठाइस किलो, बेल्खु, घाटबेँसी, चरौँदी, गजुरीलगायत स्थानमा बालुवा खानीबाट ल्याइएको बालुवाले सडक ध्वस्त बनाएकाले जसले राष्ट्रिय राजमार्ग बिगार्छ उसैले मर्मत गर्नुपर्नेमा नगरी सडक विभागले कमजोर ढंगले मर्मत गरे पनि हरेक वर्ष सडक बिग्रने क्रम बढ्दै गएकाले नियमन गर्नुपर्नेमा गाउँपालिका प्रमुखले माग गरेका छन् । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*