हेटौँडामा ५ जना युवक पक्राउ
मकवानपुर, २१ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न लागुऔषधसहित हेटौँडाबाट ५ जना युवालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान करिब साढे ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हे।उ।म।न।पा। १५ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा हेटौडाबाट पथलैया तर्फ जादै गरेको ना. २८ प. ३४४८ र ना. १५ प.१२४५ नम्बरको मोटरसाईकल रोकी जाँच गर्दा लागुऔषध गाँजा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले ना. २८ प. ३४४८ नम्बरको मोटरसाईकलमा सवार भई आएका हेटौँडा १५ बस्ने वर्ष २२ को गणेश थिंङ, ना. १५ प. १२४५ नम्बरको मोटरसाईकलमा सवार रहेका हेटौँडा १५ बस्ने वर्ष २१ को साजन थिंङ र सोही ठाउँ बस्ने वर्ष २१ को मनोज लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो ।
पहिलो मोटरसाईकलबाट लागू औषध गाँजा ६ किलो ५०० ग्राम र दोस्रो मोटरसाईकलमा १२ किलो ४०० ग्राम गरी जम्मा १९ किलो ३०० ग्राम गाँजा फेला परेपछि गाँजासहित पक्राउ गरी लागू औषध ऐन २०३३ बमोजिम ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रबार बिहान करिब साढे २ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोष्टमा रातोमाटे टोलबाटबाट हेटौडा बजारतर्फ आउदै गरेको ना.३९ प.४२११ नम्वरको मोटरसाईकललाई रोकी जाँच गर्दा नियन्त्रित लागू औषध नाईट्रोभेट १ पत्तामा १० ट्याब्लेट भेटिएपछि दुई जनालाई पक्राउ गरिएको छ ।
मोटरसाईकलमा सवार हेटौँडा १५ बस्ने वर्ष २० को विवेक पाख्रिन र निकेश लामालाई नियन्त्रणमा लिई लागू औषध ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
