सिडिओ साहेबको ध्यान कता : कार्यालयको चौर खाली राख्ने, सडकमै सवारी पार्किङ गराउने ?
मकवानपुर २० पुस । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यालय अगाडि सडकमा सवारी पार्किङ अस्तव्यस्त रुपमा भइरहेको छ । सिडिओ कार्यालय परिसरमै पर्याप्त ठाउँ भएपनि नियमनकारी निकायका प्रमुखले नै गेटमा ताला लगाएर अत्यन्त चाँप रहने सडकमा सवारी पार्किङ गर्न लगाउँछन् । काम विशेषले सिडिओ कार्यालय, जिल्ला अदालतलगायतका सरकारी निकायमा पुग्ने सर्वसाधारणले पार्किङ गर्ने ठाउँ पाउँदैनन् । सवारी राख्न ठाउँ नभएको होइन, तर अहिले पनि प्रशासन सेवाग्राहीमैत्री छैन । मूल गेटमा प्रहरी राखेर सडकमै सवारी पार्किङ गराइरहेको छ सिडिओ कार्यालयले ।

कार्यालयको हाताभित्र सवारी पार्किङ्को लागि पर्याप्त स्थान छ । तर सिडियो कार्यालयले सवारी पार्किङ्को लागि कार्यालय हाताभित्र सवारी साधन प्रवेश गर्न भने दिँइदैन । जसका कारण सवारी साधनहरु सडकनै छेक्ने गरी पाकिङ गर्नुपर्ने वाध्यता छ । अहिले सुरक्षा थ्रेट हुने कुनै अवस्था छैन । संकटकालमा जस्तो सवारीलाई गेटबाहिरै रोक्न पर्ने उपयुक्त कारण पनि छैन । सेवा लिन आउनेहरु असुरक्षित पार्किङ गर्न बाध्य छन् । ठूलाबढाले कार चढेर आए भने सो कार चाहिँ सिडिओ कार्यालयको कम्पाउण्डभित्र पार्किङ गर्न पाउँछ ।

मकवानपुरका सिडियो चक्रबहादुर बुढा
यस विषयमा तु खबरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई प्रश्न गर्दा आफ्नो ध्यान त्यता नगएको स्वीकार गर्छन् । उनले नीजि सवारी साधनलाई कार्यालयको हाताभित्र जान मिल्ने बनाउने समेत बताए । भाडाका सवारीसाधनबाहेक अन्यको हकमा सिडिओ कार्यालयभित्र पार्किङ गर्न पाउने वातावरण मिलाउने सिडिओ बुढाले बताए ।
