हेटौंडामा ट्राफिक व्यवस्थापन फितलो, हर्न निषेध लेखिएका बोर्डहरु पनि खुइलिए
नो हर्नको बोर्ड हावाले उडायो : जिल्ला ट्राफिक प्रहरी प्रमुख
मकवानपुर २० पुस । मकवानपुरको हेटौंडामा सवारी व्यवस्थापन निकैनै अस्तव्यस्त देखिएको छ । सवारी पार्कीङ त झनै अव्यवस्थित छ । बजारमा साना तथा ठुला सवारीसाधनहरु जहाँ पायो त्यँहि पार्क गरीएको भेटिन्छन् जसका कारण हेटौंडामा पनि सवारी जाम हुन थालेको छ । सवारी चालकहरु पार्किङ्को लागि व्यवस्थीत स्थान नभएकोले आफुहरुले पार्कीङ अव्यवस्थीत भएपनि पार्क गर्नुपरेको बताँउछन् ।

हेटौंडाको स्कुलरोड पारिजातपथ लगाएतका स्थानहरुमा हिजोआज सवारी जाम समेत हुने गरेको छ । ट्राफिक व्यवस्थापन कमजोर भएको कारण पार्किङ् अस्तव्यस्थ भएको बताउँछन् हेटौंडा ५ निवासी रमेश बर्तौला । जिल्ला ट्राफिक कार्यालयले नो पार्किङ्का बोर्डहरु आवश्यक स्थान र मात्रामा नराख्नु, अव्यवस्थीत सवारी पार्क गर्नेलाई कारवाहीमा ध्यान नपुग्नुु जस्ताकारणले सवारी अस्तव्यस्त रहेको उनी बताँउछन् ।
त्यसो त हेटौंडामा जिल्ला ट्राफिक कार्यालय मकवानपुरले नो पार्किङ्को बोर्डहरु नराखेको भने होईन मुख्य चोक र स्थानहरुमा नो पार्किङ्का बोर्ड राखिएकोमा ती बोर्डहरु हाल कहाँ छन् खोजेर पनि भेट्न सकिने अवस्थामा छैनन् । यसको अनुगमन नहुनु र बोर्ड नभएका वा च्यातिएका स्थानका बोर्डहरु व्यवस्थापन गर्न नसक्नु भने जिल्ला ट्राफिकको कमजोरीको पक्ष देखिन्छ ।
हर्न निषेधका बोर्डहरु खुईलिए

केहि महिना अघिमात्र जिल्ला ट्राफिक कार्यालय मकवानपुरले बजारमा सवारी कोलाहल नियन्त्रणका लागि हर्न निषेध लेखिएका बोर्डहरु बजारका मुख्य चोकहरुमा राखेको थियो । तर ती बोर्ड केहि खुईलिएको अवस्थामा छन् भने केहि च्यातिएको अवस्थामा छन् । हेटौंडाको बुद्ध चोक, सिमा चोक ,संगम चोक कर्रा पुलपारी रहेको गुम्वा चोक लगाएत थुप्रै स्थानका बोर्डहरु जिर्ण बनेका छन् । ड्रममा बेरीएका व्यानरहरु च्यातिएर नदेखिने भएका छन् । भएका स्थानमा पनि सवारी हर्न बरीरहेको नै सुनिन्छ । जसका कारण ट्राफिक व्यवस्थापन फितलो भएको होकि भन्ने भान आम सर्वसाधारणमा परीरहेको छ ।
यस विषयमा मकवानपुरका ट्राफिक प्रहरी प्रमुख नविन अधिकारीलाई तु खवरले जिज्ञासा राख्दा मकवानपुरमा सवारी अस्तव्यस्त हुनुमा सडक विस्तार नहुँनु र सवारी साधनको संङ्ख्यामा बृद्धि हुनु जस्ता कारण रहेको बताए । आफुहरुले हर्न निषेधको बोर्ड फेर्ने प्रयास गर्ने पनी उनले प्रतिबद्धता जनाएका छन् । नो पार्किङ्का बोर्ड भने हावाले उडाएको र आफुहरुले चाँडैं फेर्ने समेत उनले तु खबर मार्फत जानकारी दिए ।
