ईन्द्रसरोवर गाउँपालिकामा नयाँ बाल क्लब गठन
-मञ्जरी बलामी
मकवानपुर, २० पुस । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ तथा साविक फाखेल गाबिसमा नया बाल क्लब गठन सहित पुनः गठनको कार्य सुरु भएको छ । ईन्द्रसरोवर युवा क्लब तथा प्लान नेपाल मकवानपुरको सहकार्यमा बाल क्लबको गठन तथा पुनर्गठन गर्ने कार्य सुरु गरिएको हो ।
साबिक फाखेल गाबिसलाई बाल मैत्री गाबिस घोषणा गर्ने अभियानमा रहँदा गाबिस भित्र रहेका बाल क्लबहरुलाइ पुनर्गठन गर्नुका साथै नयाँ बाल क्लब गठन गरिएको हो । बालमैत्री गाविस घोषणा गर्ने कार्यमा बालबालिकाहरुको समस्याहरु बालबालिका मार्फत नै बाहिर ल्याउन सहज हुने र स्वयम बालबालिका नै आफ्नो समस्याप्रति सजग हुन सकेमा सहज रुपमा अभियान पुरा गर्न सकिने भएकाले उक्त कार्यलाइ अघि बढाइएको हो ।
फाखेलमा सञ्चालनमा रहेका बाल क्लबलाई सुधार गदै जाने कार्यका साथ बालबालिकाको उमेर समुहको आधारमा नयाँ बाल क्लब गठन भैरहेको इन्द्रसरोवर युवा क्लबका सदस्य पुस्कल गोलेसागरले बताए । गठन तथा पुनर्गठनको क्रममा हाल ३ वटा बाल क्लब गठन पुनर्गठन गरिसकिएको उनले जानकारी दिए । नयाँ नीति अनुसार अब इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ तथा साबिक फाखेल गाबिसमा बिद्यालय स्टरिय तथा सामुदायिक पुराना बाल क्लब, नयाँ बाल क्लब र वडा स्तरिय बाल क्लब सञ्जाल गरि जम्मा १२ वटा बाल क्लब रहने जनाइएको छ ।
बिद्यालयमा कक्षा ८ सम्मका बिद्यार्थीहरुको एउटा र कक्षा ९ र १० का बिद्यार्थीहरुको एउटा गरि प्रत्येक माध्यमिक बिद्यालयमा २ वटा बालक्लब रहने छन भने आधारभुत विद्यालयमा १ वटा बालक्लब र वडा स्तरमै बाल क्लब सञ्जाल गठन गर्ने नया योजना रहेको छ । हाल साबिक फाखेल गाबिसमा २ वटा सामुदायिक बालक्लब सञ्चालित छन । बाँकी ९ वटै बाल क्लब माघ महिना भित्रमा नै गठन गरि सकिने समेत जानकारी दिइएको छ ।
बालबालिकाको क्षेत्रमा भएका सम्पुर्ण समस्याहरु समाधन गर्दै यहि २०७४ साल चैत्र मसान्तसम्म इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ तथा साबिक फाखेल गाबिसलाइ बालमैत्री गाबिस घोषणा गर्ने लक्ष्य रहेको छ ।
