मकवानपुरका दुई युवक काठमाडौँमा पक्राउ
मकवानपुर, २० पुस । लागुऔषधसहित मकवानपुरका दुई युवकसहित ३ जना काठमाडौँमा पक्राउ परेका छन् ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्वरको यात्रुबाहक बसका चालक मकवानपुर घर भएका ३१ बर्षीय बिक्रम लामा र सह–चालक सोही ठाउँका २४ बर्षीय रवि लोप्चनलाई लागुऔषध कोरेक्स सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चालकको सिटमुनी लुकाई छिपाई ल्याएको लागूऔषध कोरेक्स एकसय एमएलको ६ बोतल र भारतीय रुपैयाँ १६ हजार बरामद भएको थियो । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।
त्यस्तै धादिङको बेनिघाट गाउँपालिका–११ घर भएका ३० बर्षीय देवलाल तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेस ९ किलो सहित पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकपोष्टमा धादिङ्गबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४ ख ७३८० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा तामाङले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार उक्त चरेश बरामद गरी उनलाई पक्राउ गरेको हो ।
