स्वयंसेवा गर्न हङ्कङका विद्यार्थी काभ्रेमा

तु खबर संवाददाता
२०७४ पुष १९, बुधबार १४:३७

धुलिखेल, १९ पुस । युनिभर्सिटी अफ हङ्कङका विद्यार्थीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा स्वयंमसेवा गरिरहेका छन् ।

‘सर्भिस ट्रिप टु नेपाल’ नाम दिएर पुस १४ गते विद्यालयमा पुगेका २३ जना विद्यार्थीले पुस २० गतेसम्म बसेर स्वमंसेवा गर्ने भएको विद्यालयले जनाएको छ ।

“हङ्कङका विद्यार्थी आएर हालसम्म सरसफाइ, डेक्स बेञ्च रंगरोगन र पढाउने कामसमेत गरिरहेका छन्,” विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भन्नुभयो । नेपालको शैक्षिक प्रणाली तथा नेपाल र हङ्कङबीचको समानता र भिन्नताबारे जानकारी लिने उद्देश्यले नेपाल आएको हङ्कङका विद्यार्थीले बताएका छन् ।

सात दिनसम्म समुदायमा नै बिताउने उहाँहरुले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री बितरण गर्नुका साथै भाषासम्बन्धी कक्षासमेत लिइरहेको छ । विशेष गरी संस्कृति आदनप्रदानका लागि आउनुभएका उहाँहरु विद्यार्थीको घरमा बसेर यहाँको संस्कृति, परम्परा, रीतिरिवाज र भाषाका बारेमा पनि जानकारी लिने÷दिने तथा दाप्चा आसपासमा रहेका मठ मन्दिरमा गएर सरसफाइको कामसमेत गरिरहेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो । त्यससँगै स्थानीय भूकम्पपीडितको घर निर्माणका क्रममा ढुंगा र इँटा ओसार्ने काममा समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

सो क्रममा उक्त समूहले भोलि २० गते विद्यालयका लागि दुई थान कम्प्युटरसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको अधिकारीले बताउनुभएको छ । विद्यालय आउने हङ्कङका विद्यार्थी र इन्स्पायर नेपाललगायतको सहयोगी भावनाबाट आफू निकै प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिलबहादुर श्रेष्ठले बताउनुभयो ।

इन्स्पायर एक्सचेञ्ज नेपाल नामक संस्थामार्फत नेपालमा आएका विद्यार्थीले विगत पाँच वर्षदेखि यस्तै स्वयंसेवी काम गर्दै आएको संस्थाका संयोजक अनिल सैंजुले बताउनुभयो ।

“संस्कृति र शिक्षाका बारेमा ज्ञान आदनप्रदान गर्ने उद्देश्यले नेपाल आउने गरेका हङ्कङका विद्यार्थी समूहले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयका विद्यार्थीबीच सहयोगको आदनप्रदान गर्नाका साथै सकेका सहयोग गर्दै आइरहेबम छन्,” सैंजुले भन्नुभयो, “अहिलेसम्ममा जिल्लाको पनौती, कुशादेवी, ढुंखर्क र बल्थलीलगायतका ठाउँमा भोलेन्टियर गरिसकेको छ ।”

हरेक वर्ष इन्स्पायर एक्सचेञ्ज नेपाल नामक संस्थामार्फत आउने गरेका विद्यार्थी फरक फरक समूहमा आउने गरेको पनि उहाँले बताउनुभयो । उक्त विद्यार्थीको समूह शनिबार नै हङ्कङ फर्किने जनाएको छ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*