गोलभेडा खेतीबाट वार्षिक २ लाख कमाई
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १३ फुलासी हर्रेका स्थानीय धुव्रबहादुर अधिकारीले गोलभेडा खेतीबाट वार्षिक २ लाखभन्दा बढि आम्दानी गरिरहेका छन् । कामको खोजीमा राजधानी काठमाडौं लगायत भारतका विभिन्न सहरमा डुलेका उनी आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोँचका साथ गोलभेडा खेतीको सुरुवात गरेको बताउँछन् ।
सुरुमा जिल्ला कृषि विकास कार्यालय रामेछापले गोलभेडा खेती सम्बन्धी तालिम दिएपछि टनेलमा गोलभेडा खेती गर्न थालेको उनी बताउँछन् । अहिले तीन रोपनी जग्गामा गोलभेडा खेती गरिरहेका उनले मासिक २ क्वीन्टल गोलभेडा बजार पठाउने गरेका छन् । ६ वटा प्लाष्टिक टनेलभित्र लगाइएको गोलभेडा किन्न रामेछाप सदरमुकाम मन्थली, दोलखाको चरिकोट लगायतका व्यापारीहरु बारीमै आउने अधिकारी बताउँछन् । अहिले प्रतिकिलो ८० रुपैयाँका दरले बारीबाटै गोलभेडा विक्री हुने गरेको छ ।
बारीसम्मै सडकको पहँुच पुगेकाले उत्पादन भएको गोलभेडा सजिलै बजारसम्म पुग्ने गरेको छ । गोलभेडा खेतीबाट भएको आम्दानीले २ छोरा र एक छोरीको शिक्षा दीक्षा र घर व्यवहार धानेर गाउँकै एक सहकारी संस्थामा समेत केही रकम बचत गर्न सफल भएको उनको भनाई छ । त्यतिमात्रै होइन उनले गोलभेडा बेचेकै पैसाले ४ लाखमा सिंचाई सुविधा भएको खेत किनेका छन् । अब उनी त्यही सिचाईयुक्त खेतमा विभिन्न थरीका तरकारी लगाउने योजनामा छन् ।
कामको खोजीमा काठमाडौं लगायत भारतका विभिन्न सहरमा जाँदा गतिलो काम नपाएको सम्झँदै अहिले गोलभेडा खेतीले आफ्नो जीवन नै बदलिएको उनको अनुभव छ । मध्ययस्तरको शिक्षा लिएका उनी गोलभेडा खेतीबाट आएको रकमले आफ्ना छोराछोरीलाई भने राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सोचमा छन् । ९ वर्षदेखी व्यवसायिक गोलभेडा खेती गर्दै आएका धुव्रबहादुर अधिकारी आफुले थालेको यो अभियानमा घर परिवारको सबै सदस्यले साथ सहयोग दिने गरेको बताउँछन् । उनी भन्छन् गरे के हुन्न मनैदेखि लागिपरे आफ्नै माटोमा सुन फलाउन सकिँदोरहेछ ।
