नारायणी यातायातको निर्वाचन : हिरालाल श्रेष्ठ भर्सेस गोकर्ण पराजुली
मकवानपुर । यातायात व्यवसायी सम्मिलित देशकै ठूलो सस्था नारायणी यातायात व्यवसायी संघको आसन्न निर्वाचनमा दुई पूर्व अध्यक्षहरुको घमासान पर्ने देखिएको छ । पूर्व अध्यक्ष गोकर्णप्रसाद पराजुलीले आफ्नो प्यानल घोषणा गरेपछि आज अर्का पूर्व अध्यक्ष हिरालाल श्रेष्ठले पनि निर्वाचनमा प्यानल घोषणा गरेका छन् ।
नारायणी यातायातमा लामो समय संघ हाँकेका अनुभवी हिरालाल श्रेष्ठ र राजनीतिक रुपमा शक्ति संचय गर्न माहिर गोकर्ण प्रसाद पराजुलीबीचको यो भीडन्त हेर्न लायक हुने छ । आज श्रेष्ठले घोषणा गरेको प्यानल र केही दिनअघि पराजुलीले सार्वजनिक गरेको प्यानलमा रहेका पदाधिकारीलाई लिएर पनि निर्वाचन कसको पक्षमा जान्छ भन्ने विश्लेषण हुनेछ । विगतमा व्यवसायीको पीरमर्कामा गरेको भूमिका पनि जाँच हुनेछ ।
नारायणी यातायात व्यवसायी संघ एउटा सिमित दायित्व भएको संस्था होइन । यसको अन्य संघ सस्थासँगको सम्बन्ध, व्यवसायीको हितमा दीर्घकालिन योजनाहरुको निर्माण र त्यसलाई लागू गराउन सरकारीस्तरमा सिर्जना गर्नुपर्ने दबाबमा को खरो उत्रन सक्छ भनेर पनि व्यवसायीले हेर्नेछन् ।
हिरालाल श्रेष्ठको नेतृत्व हुँदाको संघ र गोकर्णप्रसाद पराजुलीको नेतृत्वको संघले गरेका काम, व्यवसायीलाई पुर्याउन सकेको लाभ हानी, अन्य संयन्त्रहरुसँगको सम्बन्ध, राष्ट्रिय रुपमा परिचित अनुहार सबैको हिसाबकिताब हुने अवस्था देखिन्छ । अझ संघलाई कसले पूर्णकालिन नेतृत्व लिन सक्छ भनेर पनि व्यवसायीले हेर्नेछन् ।
आजको उम्मेदवारी घोषणासभामा हिरालाल श्रेष्ठले आफूले रहरले भन्दा पनि बाध्यताले संघको अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । के त्यस्तो बाध्यता पर्यो भन्ने बारेमा विस्तृतमा नखुलाए पनि व्यवसायीहरुको मायाका कारण आफू फेरि अध्यक्ष उठ्न लागेको उनको भनाइ थियो ।
