बकैयामा दाहालसँग लालपुर्जा माग
हेटौडा, १८ पुस । बकैया गाउँपालिका वडा नम्बर २ का नागरिकले प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीसँग लालपुर्जा माग गरेका छन् । उनीहरुले आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका हुन् ।
मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभामा उनीहरुले सो आग्रह गरेका हुन् । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि क्षेत्र नम्बर १ प्रदेश (क) का प्रदेशसभा सदस्य पुलामी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले आफूलाई लोकतन्त्रको हिमायती सम्झिने कांग्रेसले सत्ताको लोभ त्याग्न नसकेको आरोप लगाए । सभालाई सम्बोधन गर्ने क्रममा विशेष अतिथि पुलामीले चुनाव अघि घोषणा गरेका विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने बचनबद्धता व्यक्त गरे ।
नेकपा (एमाले)का नेता बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिवालय सदस्यहरु कमान सिं पाख्रिन (पृथक), विवेक राई लगायतको आतिथ्यता रहेको थियो । स्वागत कार्यक्रम सोही गाउँपालिकाको च्याउ–च्याउ, सोवी, हात्तीसुढे, हिरामनी लगायतका स्थानमा पनि सम्पन्न भएका छन् ।
