कांग्रेसभित्रका दुई गुटबीच सल्किदै भुसको आगो
काठमाडौं । कांग्रेसभित्रका दुई गुट तत्काल वा हिजोआज मात्रै देखिएको होइन । कांग्रेस स्थापनादेखि विपी वा सुवर्ण सम्शेर भन्ने दुई धार थिए भने पञ्चायतकालमा पनि कांग्रेसभित्र गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाबीचको द्वन्द आम कांग्रेसीजनलाई थाहा भएकै कुरा हो ।
झन्, घिनलाग्दो बहुदलिय शासन व्यवस्थाको उत्तराद्र्धमा नेपाली कांग्रेस विभाजन भएर प्रजातान्त्रिक कांग्रेस बनेको धेरै भएको छैन । समय सन्दर्भ मिल्दा र मिलेर राज्यकोषमा ब्रम्हलूट मच्चाउन पाउँदा भागशान्ति मिल्ने र संकटका बेलामा कांग्रेसभित्र पार्टी कब्जा गर्ने होडबाजी नै चल्ने पुरानो कांग्रेसी रोग नै हो ।
गणतन्त्र नेपालको घोषणापछि भएको पछिलो आम निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभित्र उत्पन्न आक्रोस विस्तारै भुसको आगो सल्किन थालेको छ । अहिले कांग्रेसभित्र संस्थापनाकालदेखि नै शासन गर्दै आएको विपी–मातृका–गिरिजा प्रसाद कोइरालाका उत्तराधिकारीहरु पार्टी कब्जा गर्ने षडयन्त्रमा लागेका छन् भने वर्तमान पार्टी सभापति शेर बहादुर देउवा यस पटकको निर्वाचनमा झै आफूखुशी गरेर पार्टीभित्रको आफ्नो नियन्त्रण कुनै पनि हालतमा नछोड्ने अडानमा देखिएका छन् । त्यसमाथि केही युवा पुस्ताका नेताहरु चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, विश्वप्रकाश शर्मालगायतकाले ‘अब बुढापाका नेताहरु संवैधानिक भएर बस्ने हामी युवा पुस्ता पार्टी चलाउँछौं’ भन्ने अभियान समेत अघि बढाएका छन् । यसबाट आगामी दिनमा नेपाली कांग्रेस पार्टी सहज रुपमा अघि नबढ्ने र यसबाट सहज रुपमा निकास निस्कन अझै एक दुई वर्ष लाग्ने अनुमान समेत राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।
