भिमफेदीको आलदमारमा वर्षौँपछि सिँचाई र खानेपानी, यसरी फेरियो गाउँ

तु खबर संवाददाता
२०७४ पुष १६, आईतवार १६:५८
धारामा पानी थाप्दै भिमा थापा । फोटो :कृष्ण सारु मगर ।

मकवानपुर, १६ पुस । हेटौँडा बजारबाट करिब ८ किमि उत्तरमा रहेर पनि विकट रहेको भिमफेदी गाउँपालिका–१ स्थित आलदमारबासीले वर्षौपछि खानेपानी र सिंचाईको सुविधा पाएका छन् ।
गाउँबाट करिब आधा घण्टाको पैदल दुरीमा रहेको मुहानबाट गाउँले आफैले पाईप बिच्छ्याएर पानी ल्याएका थिए । तर पाईप पुुरानो हुँदै गएपछि ठाउँ ठाउँमा फुट्नुका सार्थ गाउँका सबै ठाउँमा पानी नपुग्ने समस्या थियो । महिला बालवालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) ले र्याले नेपालको आर्थिक सहयोगमा प्रत्येक घरमा सिंचाई सुविधा सहित खानेपानीको ब्यवस्था गरिदिएपछि उक्त समस्या टरेको हो ।

भिमफेदी गाउँपालिका–१ स्थित आलदमारमा खानेपानीको सुविधा पुगेपछि स्थानीयहरुको दैनिकी फेरिएको छ । दुई छोरा छोरीका आमा भिमा थापा मगर भन्छिन्, ‘साँझ बिहान पानी ओसार्दैमा बित्ने गथ्र्यो,हप्ताको एक दिन हेटौंडा बजारमा तरकारी किन्न जान्थँे । तर अहिले साँझ बिहान तरकारी गोडमेल गर्छु । हप्ताको एक दिन तरकारी बेच्न हेटौंडा बजार जान्छु ।’

टनेलमा तरकारी खेती गर्दै रोमी थापा
फोटो : कृष्ण सारु मगर 

करिब ३५ परिवारको बसोबास रहेको आदमारका स्थानीयहरुले टनेल बनाएर व्यवसायीक तरकारी खेती थालेका छन् । घण्टौं लगाएर ओसारेको खानेपानी बचत गरेर खानुपर्ने बाध्यता हट्नुका साथै सिंचाईको पनि सुविधा पुगेपछि गाउँको मुहार फेरिएको स्थानीय रोमी घलानले बताईन् ।
तरकारी खेती र बाख्रा पालनले घर खर्च चलाउने पैसा आफैले जोह गर्न सक्ने भएपछि स्थानीय महिलाहरु पनि खुशी छन् । एक दशकदेखि बाख्रा पालन गरिरहेका रामबहादुर अधिकारी बाख्रालाई पानी खुवाउन राप्ती खोला पुग्थे । तर त्यो दुःख अब सकिएपछि उनी ब्यवसायीक बाख्रा पालनतर्फ अघि बढेका छन् ।

ओचिनका कार्यकारी दिर्नेशक उद्धव बानियाँ भन्छन्, ‘हेटौंडाबाट नजिक रहेर पनि खानेपानीको समेत समस्या थियो तर अहिले सिंचाईको पनि सुविधा पुगेपछि स्थानीयहरु खुशी भएका छन् ।’ खानेपानी, सरसफाई र आयआर्जनमा सहयोग गरेको ओचिनले संस्कृति र परम्परा जगेर्ना र आर्थिक सुधारमा पनि काम गरिरहेको कार्यकारी दिर्नेशनक बानियाँले बताए ।

खानेपानी धाराको अनुगमन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल,उपसभापति भगवती पुडासैनी,निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद खड्का,स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली लगायत
फोटो : कृष्ण सारु मगर ।

खानेपानी आयोजनाको अनुगमन
यसैबीच ओचिन मकवानपुरले निर्माण गरेको खानेपानी,सिंचाई र सरसफाई योजना आईतबार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, उपसभापति भगवती पुडासैनी,निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद खड्का,स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली ,पत्रकार कृष्ण सारु मगर लगायतको टोलीले योजना अनुगमन गरेको हो । अनुगमनसँगै स्थानीयहरुसँग अन्तरक्रिया पनि गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*