तुप्चेमा बन्नेभयो १९ मेगावाटको विद्युत् आयोजना

तु खबर संवाददाता
२०७४ पुष १६, आईतवार ०८:१७

त्रिशूली, १६ पुस । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।

१९।४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राखे । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए। रु पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए ।
उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो । तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गरे। उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*