बर्दिवासमा अख्तियारको नयाँ भवनको शिलान्यास
गौशाला, १४ पुस । महोत्तरीको बर्दिबासमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनको शिलान्यास गरिएको छ ।
बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सो भवनको शिलान्यास गर्नुभयो ।
कुल १३ कठ्ठा आठ धुर क्षेत्रफलमा दुईवटा भवन निर्माण हुने बताइएको छ ।
आगामी दुई वर्षभित्र निर्माण कार्य पूरा हुने गरी निर्माण गर्न लागिएको भवनको लागत रु १३ करोड ९० लाख ६४ हजार रहेको सो अवसरमा जानकारी दिइयो ।
भवनको शिलान्यास गर्दै प्रमुख आयुक्त बस्न्यातले भवन निर्माणपश्चात प्रदेश नं. २ का जनता, कर्मचारी र सरोकारवाला सबैले अहिले भन्दा थप सेवा प्राप्त गरी लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा आयोगका सचिव राजन खनाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख श्यामराज अधिकारीलगायत महोत्तरीका विभिन्न कार्यालयका प्रमुख तथा सुरक्षा निकायहरुका प्रमुखको उपस्थिति थियो । -(रासस)
