सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १४:४८
तस्बिर–गुगल

लहान, १४ पुस । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको राससले जनाएको छ ।

नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो ।

प्रमुख कुशवाहाका अनुसार जिल्लाको कुल एक लाख १८ हजार ७६२ घरधुरीमध्ये हालसम्म एक लाख १२ हजार ६९५ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको पाँच प्रतिशत अर्थात छ हजार ६७ घरधुरीमा अबको एक साताभित्रै शौचालय निर्माण गराएर जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताउनुभयो ।

हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको पनि प्रमुख कुशवाहाले जानकारी दिनुभयो ।

घोषणा हुन बाँकी रहेका सिरहा नगरपालिका, लहान नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, सखुवा नन्कारकट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, अर्नामा गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुन बाँकी रहेको वडामा पनि शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

सरसफाइको दृष्टिकोणले सिरहा जिल्ला मुलुकमै ७४ औँ स्थानमा रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । मुलुकमै सिरहाको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधार ल्याई सन् २०१५ भित्रमा सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि विभिन्न कारणले हालसम्म पनि खुल्ला दिसामुक्त हुन सकेको छैन् । –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*