तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत पुरा

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १४:१८

भद्रपुर, १४ पुस । दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुहिकरूपमा गर्नुभएको थियो ।

त्रिपन्न मिटर लामो र ३४ मिटर चौडाइको सो सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा तीन वटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने बातानुकूलित भवन बन्ने निर्माण कम्पनी प्रेरा–शाहा जेवीले जनाएको छ ।
जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको खाली जग्गामा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण गर्न तत्काल केही विवाद उत्पन्न भए पनि तत्कालीन स्थानीय विकास अधिकारी फणीन्द्र दाहाल तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको पहलमा राजनीतिक दलहरुबीच सहमति गरेर सो भवन निर्माण कार्य अघि बढाइएको थियो ।

भवन निर्माण गर्न तत्काल जिल्ला विकास समितिले सो स्थानलाई खाली गराउन करिब आठ महिना समय खर्चेपछि निर्माण कम्पनीले भवन शुरु गर्नु र निर्माण कम्पनीले समयमा पाउनुपर्ने भुक्तानी पनि नपाएकाले निर्माणमा केही ढिला हुन गएको जिल्ला इञ्जिनियर प्रमुख सुशील श्रेष्ठले बताउनुभयो ।

भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफूले काम गरिरहे पनि जिल्ला समन्वय समितिले बजेट निकासा र जग्गा खाली गराउन गरेको ढिलाइमा खर्च भएको समयअवधि थप्नु पर्नेमा जोड दिनुभयो । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*