कपिलवस्तुमा माघी महोत्सव हुने

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १३:५४
तस्बिर–गुगल

जितपुर, कपिलवस्तु, १४ पुस । कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनीसमेत गरिनेछ ।

महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाका थारु समुदायका ज्येष्ठ नागरिक र थारु उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष जंजिरप्रसाद थारुले जानकारी दिनुभयो । माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासीलगायतका थारु बस्तीमा माघीको रौनकता बढेको हो । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*