कामदारको हाहाकार,पुनःनिर्माणका लागि आफैँ जुटे गाउँले

तु खबर संवाददाता
२०७४ पुष १३, बिहीबार १४:११
फोटो: गुगल

धुलिखेल, १३ पुस । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफँै घर बनाउन जुटेका छन् । सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा नं ५ सिमलडाँडाका भूकम्प लाभग्राही सबैजना मिलेर आलोपालो गरी घर निर्माण गर्न जुटेका हुन् ।

त्यहाँका सात घरपरिवारले काम गर्ने दक्ष कामदार नपाएका कारण घर बनाउन नसकेको भन्दै आफूहरु सबैजना मिलेर पुनःनिर्माणको काममा आलोपालो गर्ने गरी काम थालनी गरेको रमेश थापाले बताउनुभयो । साविक रविओपी गाविसको वडा नागरिक मञ्चका संयोजक एवं गाविसस्तरीय मेलमिलाप कर्तासमेत रहेका थापाले सबै गाउँले मिलेर पुनःनिर्माणको काममा जुट्न पहल गरेपछि अहिले घर निर्माणको कामले तीव्रता पाएको छ ।

अहिले त्यहाँका स्थानीय भूकम्प लाभग्राहीले सामूहिकरुपमा पुनःनिर्माण थालनी गरेसँगै कामको जिम्मेवारीसमेत बाँडफाँड गरेका छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि दक्ष डकर्मी तालीम लिएका दिनेश मगरले कामदारको नेतृत्व गरेको छ । “मैले पहिलादेखि नै यसै क्षेत्रमा काम पनि गर्दै आएको र पछि दक्ष डकर्मीको सात दिनको तालीम पनि लिएका कारण निर्माण गर्ने घरका लागि सबैसँग मिलेर अघि बढिरहेको छु ।” मगरले भन्नुभयो, “तोकेको समयसीमाभित्र घर निर्माण गरेर सरकारको अनुदान पनि फिर्ता नजाओस् र कामदार नपाउने अवस्थामा सबै मिलेर घर निर्माण गरौँ भनेर सबैजना मिलेर यो अभियान थालेका हौँ ।”

पन्ध्र घरधुरी रहेको सो ठाउँका भूकम्प लाभग्राहीमध्ये सात घरधुरीले सो अभियान थालेका हुन् । युवाले सिमलडाँडा माथिल्लो टोल घर निर्माण उपभोक्ता समिति नै गठन गरेका छन् । समितिको अध्यक्षसमेत रहेका रुपक थापाले परिचालन गर्नका लागि भूमिका खेलिरहेको छ ।

मंसिर २२ गतेबाट सामूहिकरुपमा घर निर्माणको थालनी गर्नुभएका उहाँले अहिलेसम्ममा चार वटा घरको डिपिसी गरिसकेको छ । “हामीले आलोपालो गरेर निर्माणको काम गर्दैछौँ”, थापाले भन्नुभयो, “समलेर गर्दा सहज पनि हुने र ज्याला पनि बच्ने भएकाले धेरै सहज हुँदोरहेछ ।” खेर जाने समय पनि सदुपयोग हुने र आवश्यकताअनुसार महिला र पुरुष मिलेर काम गर्दा छिटो पनि हुने उहाँहरुको भनाइ छ ।

राष्ट्रिय पुनःनिर्माण प्र्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैडाले दक्ष कामदारको अभाव र इञ्जिनियरहरुको पर्याप्त व्यवस्था गर्न नसक्दा पुनःनिर्माणले गति लिन नसकेको स्वीकार गर्नुभयो । सरकारले पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेपछि अहिले लाभग्राही धमाधम घर निर्माणमा जुटेको बताउनुहुन्छ । -(रासस) ः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*