‘मेरो कार्यकालभरि मउवा संघको बारेमा नकरात्मक समाचार आउँदैन’–कृष्ण कटुवाल
मकवानपुर, १२ पुस । यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी कृष्ण कटुवालले आफूले जितेमा कार्यकालभरी ‘नेगेटिभ न्यूज’ नआउने बताएका छन् ।
अहिलेको कार्यकालमा राम्रो भन्दा नराम्रो समाचारले मिडियामा स्थान पाएको भन्दै उनले आफ्नो कार्यकालमा त्यस्तो नहुने बताएका हुन् । मङ्गलबार सुनचाँदी व्यवसायी संघमा आबद्ध व्यवसायीहरुसंगको अन्तरकृयामा उनले भने, ‘उद्योगी व्यवसायीको हकहितमा काम गर्दै कर र राजश्वको समस्या समाधानमा भूमिका खेल्नेछु । संस्थागत सुधारमा मेरो जोड रहेको छ ।’
संस्थामा राजनीति हुन नहुने उल्लेख गर्दै उनले आफू व्यवसायीक गठबन्धनको उम्मेदवार भएको दावी गर्दै संस्थामा आबद्ध उद्योगी व्यवसायीको लागि वस्तुगत संघसंग समन्वय गरी विशेष छुटको व्यवस्था गर्ने जानकारी दिए । आफ्नो टिममा सबै पार्टी, जात, क्षेत्र, समुदायको संयोजनसहितको साझा टिम रहेको दावी गर्दै एकपटक नेतृत्व गर्ने मौका दिन अनुरोध गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठले ५० बर्षको इतिहासमा अहिलेको कार्यकालमा संस्थाको साख गिरेको भन्दै उनले त्यसलाई बचाउनु आवश्यक रहेको औंल्याए । ‘अहिलेको कार्यकाल निकै विवादित बन्यो । हिजोको संस्थाको शाखलाई जोगाउनु आवश्यक छ’, श्रेष्ठले भने, ‘अहिलेका अध्यक्ष आ–आफ्नो स्वभाव हुन्छ भन्दै एकलौटी अघि बढिरहेका छन् ।’
सुनचाँदी व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले मउवा संघका सम्पूर्ण पूर्व अध्यक्षहरुको साथ र सहयोग कृष्ण कटुवालको टिमलाई रहेकोले यो टिम सक्षम र इमान्दार रहेको प्रष्ट हुने बताउँदै मतदानको लागि अनुरोध गरे ।
कटुवालको प्यानलले मंगलबार दिनभर बजार क्षेत्रमा घरदैलो गर्दै भोट समेत मागेको छ । मंगलबार नै कटुवाल प्यानलले खुद्रा तथा डिलर एसोसिएसन, मोवाइल एसोसिएसन तथा पुस्तक व्यवसायीसहित विभिन्न क्षेत्रका मतदातासँग समेत भेटघाट गरेको छ ।
