‘अब विकास सुरु भो’–मेयर हरिबहादुर महत
मकवानपुर, १२ पुस । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपमहानगरमा पछि जोडिएका साविकका गाविसरुमा अब बल्ल विकासको कार्य सुरु भएको बताएका छन् । साथै ती गाविसहरुलाई नगर सरह बनाउनु आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
बुधबार हेटौंडा–१४ नम्बर वडास्थित मयुरधापमा स्लाब ढलान कार्यको उद्घाटन गर्दै उनले विकासको दृष्टिले पछि परेको साविकको चुरियामाई, पदमपोखरी, बसामाडी, हटिया र हर्नामाडीलाई नगरबासीको आभाष गराउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।
‘साविक हेटौंडा नगरको ११ वटा वडा बराबर विकास पु¥याउनुपर्ने हामी सबैले महसुस गरेको बिषय हो’, उनले भने, ‘उपमहानगरमा पछि गाभिएका वडाहरुमा खानेपानी, विजुली, मोटरबाटो, विद्यालयलगायतको अभाव रहेको छ । उपमहानगरको ध्यान यसतर्फ गएको छ । क्रमिक रुपमा विकासका कामहरु हुनेछन् ।’ क्रमागत रुपमा विकासका कामले निरन्तरता पाउने भन्दै मेयर महतले तत्काल गर्नुपर्ने विकासका कामलाई पहिलो प्राथमिकता दिन वडा अध्यक्षहरुलाई अनुरोध समेत गरे ।
१४ नम्बर वडा अध्यक्ष दीपक खड्काले साविकको चुरियामाईमा विशेषगरी बाटो, खानेपानी र केही स्थानमा विद्युतको समस्या रहेको जानकारी दिँदै अब विकासको क्रम सुरु भैसकेको बताए । ‘स्थानीयको चाहना बमोजिम बाटो स्लाब गर्ने, खानेपानी र अन्य विकासका कामहरु अघि बढिरहेको छ’, वडाध्यक्ष खड्काले भने, ‘हामीलाई उपमहानगरापलिकाबाट विशेष सहयोग भैरहेको छ ।’
कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले १४ नम्बर वडाले सक्षम वडा अध्यक्ष पाएको भन्दै अब विकासले गति लिने बताए । वडा अध्यक्ष खड्काको अनुसार ८ मिटर चौडाइको २ सय २० मिटर र ४ मिटर चौडाईको एकसय ५५ मिटर बाटो स्लाव ढलान हुनेछ ।
