व्यापार महोत्सवमा धुलोले रोक्न सकेन दर्शक र कलाकारको मस्ती

तु खबर संवाददाता
२०७४ पुष ११, मंगलवार १९:१४

मकवानपुर, ११ पुस । भुटनदेवी पार्कमा बुरुक बुरुक उफ्रिरहेका दर्शक देखेर स्टेजमा कलाकार समेत उफ्रन थाले । कलाकार र दर्शकको मस्ती यतिसम्म चुलियो कि मेलास्थल पुरै धुलो उडेर ढाक्यो तर त्यो धुलोमा समेत कलाकार र दर्शकको मस्ती रोकिएन । मंगलबार हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा यस्तै दृश्य देखियो ।

राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारद्वय हेमन्त शर्मा र बद्री पंगेनीले मंगलबार हेटौंडामा आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरेका छन् । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा उनीहरुले आफ्नो चर्चित सांगीतिक कोसेली दर्शकमाझ पस्किँदै सवैको मन जितेका छन् ।

विशेष गरी लोकपप र लोकदोहोरी गीतले मंगलबार मेला सांगीतिकमय भएको थियो । गायक हेमन्त शर्माले मूल हौं भने रसाइदेउ, केही होइन धन संसारमा ठूलो मायाको मन, भोजपुरी गीत गाएका थिए । करिब डेढघण्टा स्टेजमा आफ्नो प्रस्तुती दिएका शर्माले आधादर्जन गीत गायका थिए । उनको गीतमा महोत्सवमा आएका संगीतका पारखीहरु मज्जैले नाचेका थिए ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन मैदानमा जारी मेलाको पाँचौ दिन साँझ ५ बजेको समयमा स्टेजमा आएका बद्री पंगेनीले आधा दर्जन गीत गाएका थिए । रातो पछ्यौरी अनि तातो पछ्यौरीबाट आफ्नो प्रस्तुती सुरु गरेका उनले आफ्ना चर्चित गीतहरु गाएका थिए । उनले खाना मिठो थकाली, अझै लोकतन्त्र आ’को छैन जस्ता गीत गाउँदा साँझ परिसकेको थियो ।

उनको गीतमा महोत्सवमा सहभागीहरु डान्स गर्दा महोत्सवस्थल धुलाम्मे भएको थियो । तर धुलोले समेत कलाकार र दर्शकको मस्तीलाई रोक्न सकेन । महोत्सवमा रमेशराज भट्टराई र रिता केसीको समेत प्रस्तुत रहेको थियो ।

मेलामा दैनिक सांगीतिक कार्यक्रम, फेशन शो, स्थानीय व्याण्डको प्रस्तुती समेत रहेको छ । मेलामा बालवालिकाका लागि वाल उद्यान, दुईसय केजीको अष्ट्रिज, जाडोको कपडा तथा होटलका स्टलहरु रहेको छन् ।

२०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकारिता क्षेत्रमा क्रियाशील सुमन भोम्जनको स्मृतिमा महोत्सव तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रतिष्ठानले गर्दै आइरहेको छ । मेला करिब दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

फागुन ५ गतेबाट हेटौंडामा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न आर्थिक संकलन गर्न महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा आज बुधबार रवि के रिमाल, आयुष अधिकारी, उदेश श्रेष्ठ, ध्रुब बिस्को, डीमोर्चा व्याण्ड र राजतन्त्र व्याण्डको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*