मकवानपुर उद्योग वाणिज्य संघमा महेन्द्र राउत र कृष्ण कटुवालको भिडन्त
मकवानपुर, २ पुस । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि कृष्ण कटुवाल र महेन्द्र राउतको भिडन्त हुने भएको छ । आउँदो पुस १५ गतेबाट सुरु हुने संघको निर्वाचनको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने तथा उपाध्यक्ष कृष्ण अग्रवालले उम्मेदवारी फिर्ता लिएपछि कटुवाल र राउतको भिडन्त पक्का भएको हो ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि न्यौपाने र अग्रवालले उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका हुन् । न्यौपाने तथा अग्रवालले वर्तमान महासचिव समेत रहेका राउतलाई अध्यक्षमा समर्थन गर्ने गरि उम्मेदवारी फिर्ता लिएका हुन् ।
न्यौपाने र अग्रवालले समर्थन गर्ने भएपछि तु खबरसँग प्रतिकृया दिँदै महासचिव राउतले मकवानपुरे व्यवसायीको हित र मकवानपुरे मिडियासँग व्यवसायीहरुको समन्वयलाई प्रगाढ बनाउने उदेश्यसहित आफुले उम्मेदवारी दर्ता गरेको र सम्पूर्ण संचारकर्मीसँग सहयोगको लागि आग्रह पनि गरे । ‘अघिल्लो कार्यकालमा पुरा नभएको कार्यहरु पुरा गर्नुका साथै मकवानपुरमा व्यवसायीको हितको लागि सदैव लागिपर्नेछु , साथै सञ्चारकर्मीसँगको व्यवसायीहरुको सम्बन्धलाई पनि फलदायी बनाउनेछु ।’ उनले भने ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष न्यौपानेले आफुहरु नेतृत्व हस्तान्तरणको प्रकृयामा लागेको बताए । आफुले एक पटक अध्यक्षको कार्यभार सम्हालीसकेको र केन्द्रमा समेत प्रतिनिधित्व गरिसकेको बताउले अबको पालो महासचिव राउतको रहेको भन्दै उनलाई समर्थन गर्ने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै वर्तमान उपाध्यक्ष समेत रहेका अग्रवालले यो कार्यकालको लागि राउतलाई समर्थन गर्न आफु तयार भएको सुनाए । उनले घरयासी कारणले यो पटक नेतृत्व लिनबाट आफु पछि हटेको बताउँदै राउतको पनि इच्छालाई नकार्न नसकेको उनले बताए । उनी पुन वाािणज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको समेत उनले बताए ।
