पाँच महिनादेखि जिसस जुम्ला समन्वय अधिकारीविहीन

तु खबर संवाददाता
२०७४ पुष २, आईतवार १८:४७
तस्बिर–गुगल

जुम्ला, २ पुस । जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको राससले जनाएको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उहाँ फर्कनु भयो न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो । अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधिकारी पाउन सकेको छैन ।

जिल्ला समन्वय समितिको गठन नहुँदै स्थानीय विकास अधिकारी बेल्वासे बाहिरिए यता अहिलेसम्म कोही नआउँदा समन्वय समितिको दैनिक कामकाजमा ठूलो बाधा पुगेको जिसस जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताउनुभयो । प्रशासनिक जिम्मेवारी बहन गर्ने प्रमुख नहुँदा समितिलाई अघि बढ्न गाह्रो भएको उहाँको भनाइ छ । कार्यालय प्रमुख नहुँदा निमित्त र निमित्त नहुँदा सीमितभन्दा पनि अझ सीमितबाट काम चलाउ गर्नु परेको उहाँले दुखेसो गर्नुभयो ।

प्रमुख सार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई भेटेर जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनियर राजकुमार गोइतलाई आर्थिक अधिकारसहित निमित्त दिन लगाएर काममा केही सहजता ल्याए पनि महत्वपूर्ण काम गर्न÷गराउन गाह्रो भएको बताउनुभयो ।

पटकपटक कर्मचारी पठाइदिन अनुरोध गर्दा मन्त्रालयले हरिनारायण बेल्वासे जुम्ला नआउने र हरिप्रसाद घिमिरेलाई पठाउने बताएको उहाँको भनाइ छ । पठाउने भनिएका घिमिरे आजसम्म पनि सम्पर्कमा नआएको समन्वय समितिले जनाएको छ । तत्कालीन जिविस छँदा दैनिक मान्छेको भीड लाग्ने कार्यालय जिसस रुपान्तरण भइसकेपछि आजभोलि निकै सुनसान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*