कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, १ पुस व्यापारका लागि महत्वपूर्ण कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
सडक निर्माणका लागि ठेक्का लिएको निर्माण कम्पनीले काम अगाडि नबढाउँदा धुलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा यात्रा गर्न यात्रुलाई असहज भएको छ । सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्नका लागि चार दशकअघि सर्भेक्षण गरिएको सडक हालसम्म पूरा हुन नसक्दा सर्वसाधारणले जिल्ला सदरमुकाम पुग्नका लागि निकै कष्ट झेल्नुपरेको छ ।
कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका बासिन्दाको आरोप छ । तीन दशकदेखि सो सडकमा बस सेवा सञ्चालनमा छ । वर्षात्कमा सडक हिलाम्मे र खाल्डाखुल्डीमा पानी जम्ने गरेकाले बस सेवा ठप्प हुँदा सर्वसाधारणको जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ ।
कच्ची सडकै कारण २७ किमीको यात्रा तय गर्न यात्रुले रु १६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ । खेतमा उत्पादन गरिएको तरकारी बजारसम्म पु¥याउन समेत हम्मेहम्मे पर्ने गरेको शोभातालका किसान साइटु चौधरीले बताए । “सडकको बिग्रँदो अवस्थाका कारण खेतमा उत्पादित तरकारी बेच्न नपाएर खेतमै कुहिने गरेको छ” उनले भने , “सडकको सहज व्यवस्था भए बजारसम्म जान सक्थ्यो, सस्तोमै गाउँघरमै बिक्रीसमेत हुने गरेको छैन ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको तीन किमी क्षेत्रमा र चान्देव दक्षिणको सामुदायिक वन क्षेत्रमा सडक दायाँबायाँ बढेको झाडीका हाँगा झ्यालको सिसा खोलेर हातले पन्छ्याई चालकले बस चलाउनुपर्ने बाध्यता छ ।
विसं २०४३ देखि सडक किनाराका रुखका हाँगा नहटाइँदा यस्तो समस्या आएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सडक कालोपत्रे गर्ने कुरा उठ्दै आए पनि हालसम्म पूरा हुन नसकेको कालागौँडीका शिक्षक गेंदुराम रानाले बताए ।
“विसं २०७३ असार मसान्तमा कलुवापुर–बेलौरी सडक पक्की निर्माणको ठेक्का भएको खबरले यस क्षेत्रमा खुशी छायो”, बेलौरीका समाजसेवी केशवराज जोशीले भने, “हालसम्म निर्माण कार्यको थालनी नहुँदा अन्योल छाएको छ ।”
जानकारका अनुसार विसं २०३४ मा कलुवापुरदेखि भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी ४० किमी सडकको सर्भे डिजाइन गरिएको थियो । बेलौरीबाट जिल्ला सदरमुकाम भीमदत्तनगर सारिएपछि सडक निर्माणको कामले गति लिन नसकेको हो ।
पटक पटक चुनावी कार्यसूचीमा मात्रै सडक निर्माणलाई राख्ने र चुनाव जितेपछि बिर्सने कार्यले सडक निर्माण अगाडि बढ्ने नगरेको यहाँका सामाजसेवी बताउँछन् ।
