म्यादी भन्छन् ‘प्रशासनले लापरवाही गर्यो, ज्यान गयो’, प्रहरी भन्छ ‘आरोप मात्र हो’

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १६:४३

चन्द्र घलान
मकवानपुर, २२ मंसिर । मकवानपुरको उत्तरी क्षेत्रमा खटिएका म्यादी प्रहरीलाई लापरवाहीका साथ अलपत्र पारिएको स्थानीय र म्यादी प्रहरीले आरोप लगाएका छन् । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत साविक आग्रा ७ देउखेलमा अलपत्र पारिएका ६ जना म्यादी प्रहरी अहिले आफ्नै खर्चमा बिना कमाण्ड सदरमुकाम तर्फ फर्किरहेका छन् ।

उनीहरुले नाम नबताउने शर्तमा आफुहरुलाई मनलाग्दी रुपमा केही व्यवस्था नगरी विना सुरक्षा मतदान केन्द्रमा नै अलपत्र पारेको बताउँदै तु खबरलाई गुहारेका थिए । त्यहाँस्थित सरस्वती मावि मतदान केन्द्रमा असई तेजनारायण यादवको कमाण्डमा खटिएको ९ जना म्यादी प्रहरीसहित १४ जना सुरक्षाकर्मीमध्ये ६ जनालाई त्यहीँ नै छोडेर गएको र बाँकी प्रहरी भने मतपेटिका सहित सदरमुकाम फर्किएको उनीहरुले बताए ।

यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलीपराज झाले भने सवारी साधनमा मतपेटिकासहित फर्कनुपर्दा ठाउँ नपुगेकाले उनीहरुलाई त्यहीँ नै छोडिएको प्रतिक्रिया दिएका थिए । उनीहरुले मतगणना नसकिएसम्म त्यहीँ नै ड्युटी हुने हुँदा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न सकिने समेत डिएसपी झाले तु खबरलाई बताएका थिए ।

यसै क्रममा मकवानपुरको भीमफेदीमा शुक्रबार म्यादी प्रहरी चढेको ना. ३ ख ५९१८ नम्बरको टिफर दुर्घटना हुँदा २ जना म्यादी महिला प्रहरीसहित १ जना चालकको ज्यान गएको छ भने एक जना म्यादी महिला प्रहरी घाईते भएकी छिन् ।

थाहा नगरबाट शुक्रबार बिहान हेटौंडा तर्फ आउँदै गरेको टिफर दुर्घटनामा म्यादी प्रहरीहरु भिमफेदी गाउँपालिकाकी सपना बर्तौला र हेटौँडा १० की लक्ष्मी स्थापितको मृत्यू भएको डिएसपी झाले जानकारी दिएका छन् । त्यस्तै म्यादी प्रहरी दिलमाया बोम्जन घाईते भएकीले उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको छ । दुर्घटनामा सवारी चालक बज्रबाराहीका शेरबहादुर गोपालीको समेत मृत्यू भएको छ ।

डिएसपी झाले त्यस क्षेत्रमा खटिएका म्यादी प्रहरीलाई रिजर्भ गरिएको सवारीमा ल्याइएको तर उनीहरु ३ जना भने टिफरमा चढेको पाइएको बताए ।
म्यादी प्रहरीको मृत्यू पश्चात मृतक स्थापितकी आफन्तले तु खबरसँग दुखेसे पोख्दै प्रशासनको लापरवाहीले स्थापितको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुलाई मनलाग्दी बिना सुरक्षा त्यहीँ नै छाडिएको आरोप उनकी आफन्तहरुको छ ।

यता उपचाररत दिलमायालाई हस्पिटलमा भेट्न गएका पत्रकारहरुका अनुसार प्रहरीले अन्य म्यादीलाई समेत हेटौँडामा ल्याइसकेपछि बिहान ३ बजे नै अलपत्र छोडेको देखिएको बताएका छन् । म्यादी प्रहरीहरुलाई लान र ल्याउन पर्याप्त सवारी व्यवस्था गरे वा नगरेकोमा नै शंका गर्ने अवस्था देखिएको छ । साथै म्यादीलाई मात्र छोडेर प्रहरी भने फर्कनुले प्रशासनको पनि दोष देखिएको उनीहरुको भनाई छ ।

यसबारेमा तु खबरलाई प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले ती कुराहरु आरोप मात्र भएको बताएका छन् । उनले सबै म्यादी प्रहरीलाई सवारीमा नअटेपछि रिजर्भ गरिएको सवारीमै सदरमुकाम ल्याइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*