मकवानपुरमा मतगणना यसरी सुरु भयो
हेटौँडा, २२ मंसिर । क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने मकवानपुर जिल्लाको मतगणना सुरु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसमा केहीबेर अघि मात्र मतगणना सुरु गरिएको हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले जानकारी दिए ।
मकवानपुरका दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको हो । बिहीबार सम्पन्न निर्वाचनमा मकवानपुरमा करिब ६५ प्रतिशत मत खसेको मकवानपुर प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन् ।
२ प्रतिनिधिसभा र चार प्रदेशसभा भएको मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेको छ । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् । कुल मतदातामध्ये मकवानपुरमा पुरुष मतदाता १ लाख २९ हजार ६ सय २८, महिला १ लाख २५ हजार ९ सय ७०, तेस्रो लिङ्गी ६ जना रहेका छन् ।
३ सय २४ मतदान केन्द्र रहेको मकवानपुरमा २ हजार ५ सय १३ जना कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए ।
