अझै शुरु हुनसकेन चितवनमा मतगणना

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १४:०१
फोटो : गुगल म्याप

रत्ननगर, चितवन, २२ मंसिर । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि शुरु हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको राससले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना शुरु हुने जानकारी दिनुभयो ।

यसअघि बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन ।

बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । आवश्यक तयारीका काम पूरा नहुँदा अहिले १ बजेसम्म मतगणना शुरु हुन नसकेको हो ।

चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिनुभयो ।

चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेको छ । चितवनको भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा समेत जडान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*