विवादका कारण रोकिएको मतदान शुरु
भक्तपुर, २१ मंसिर : भक्तपुर क्षेत्र नं २ को प्रदेश नं २ क सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ ।
आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको ९ख० मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो ।
करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ । हस्ताक्षर नभएको मतपत्र खसेको जानकारी पाएलगत्तै निर्वाचन अधिकृत पराजुलीलाई मतदान केन्द्रबाट निष्कासन गरिएको छ ।
एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गर्ने सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली काँग्रेसका प्रतिनिधिले हस्ताक्षर नभएको मत रद्द हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सुरक्षाकर्मीको टोलीले मतदानस्थलको अनुगमन गर्दै हस्ताक्षर नभएको मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा पछि छलफल गर्नेगरी मतदान सुचारु गर्न आग्रह गरेपछि मतदान शुरु भएको छ ।
यता भक्तपुरको क्षेत्र नं। १ प्रदेश नं। ९ख० भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गर्नुभयो ।
त्यसैगरी क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले गुण्डुको भैरबी निमावि केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली काँग्रेसका क्षेत्र नं। २ का उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिकास्थित गःपली मतदान केन्द्रबाट मतदान गरेका छन् ।
रासस
