विरोध खतिवडाले गरे मतदान
हेटौँडा, २१ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले मतदान गरेका छन् ।
उनले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित वासुदेव सभागृहबाट मतदान गरेका हुन् ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्दैछन् । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् । कुल मतदातामध्ये मकवानपुरमा पुरुष मतदाता १ लाख २९ हजार ६ सय २८, महिला १ लाख २५ हजार ९ सय ७०, तेस्रो लिङ्गी ६ जना रहेका छन् ।
३ सय २४ मतदान केन्द्र रहेको मकवानपुरमा २ हजार ५ सय १३ जना कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
