लोप हुने अवस्थामा यःमरी भाका

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार १२:०८
तस्बिर–गुगल

– लक्ष्मी गारु

भक्तपुर, १७ मंसिर । मार्ग शुक्ल पूर्णिमाअर्थात् धान्य पूर्णिमारूपमा मनाइने यो पर्व दिन नेवार समुदायमा भने ‘यःमरी पुन्ही’ले परिचित छ । यस दिन चामलको पिठोमा चाकुलगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी यःमरी बनाएर खाने गरिएकाले यस चाडको यःमरी पुन्ही नामाकरण गरिएको हो ।

नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको र जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा चाकु राखिदै आएकामा खुवा, मासु, गुँदपाक, मास, मुगीलगायत सामग्री राख्ने प्रचलन पनि बढेको छ ।

यःमरी पुर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्माणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए ।

उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए पछि सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको महत्व बढेकोे हो । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा लिइने र पूर्णिमाका दिन यःमरीलाई धानका भकारीलगायतमा चढाइन्छ । यसरी चढाएको यःमरी चारदिन पछिमात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ । यःमरीलाई भगवती अन्नपूर्ण देवीका प्रतीकको रुपमा पनि लिइन्छ । यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा यःमरी चढाएर मात्र आफूले खाने चलन रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ ।

यस दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छिमेकमा यःमरी भाकाको गीत गाउँदै यःमरी माग्ने चलन पनि छ । नेवार समुदायमा तिहारमा देउसीभैलो खेल्ने प्रचलन छैन । उनीहरु यःमरी पूर्णिमाको दिन यःमरीसम्बन्धी लोकभाका गाउँदै यसरी यःमरी माग्ने गर्दछन् ।
त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह सितिकुती

यःमरी पूर्णिमाका साँझ नेवार समुदायको घर आँगनमा गुन्जिने यो मीठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ । आधुनिकताको चपेटामा परेपछि मौलिक लोकसंस्कृति लोप हुने क्रममा यःमरी माग्ने चलन पनि लोप भएपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो ।

लोपोन्मुख यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पर्व लिच्छवीकालदेखि चल्दै आएको लिच्वववीकालिन वंशावलीमा उल्लेख छ । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*