कमल थापालाई कुनै हालतमा सहयोग हुन्न : सोनामसिं स्याङतान ( हेर्नुहोस् भिडियो )

तु खबर संवाददाता
२०७४ मंसिर १३, बुधबार १७:०७

मकवानपुर, १३ मंसिर । नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक तथा मकवानपुर प्रतिनिधिसभा २ का उम्मेदवार सोनाम सिं स्याङतान विजयले कुनै पनि हालतमा कमल थापालाई समर्थन गर्न नसकिने बताएका छन् ।

तु खबरले हेटौंडामा आयोजना गरेको साक्षातकार कार्यक्रममा आफ्ना भनाइहरु राख्दै विजयले कमल थापालाई समर्थन गर्ने कुरा कुनै पनि हालतमा मान्न नहुने बताए । प्रतिनिधिसभा १ का तत्कालिन उम्मेदवार प्रल्हाद लामिछानेकै सहमतिमा थापालाई समर्थन गर्न वार्ता समितिको अपिल आएको खुलासा गर्दै विजयले उम्मेदवारलाई नसोधी कुनै निर्णय नभएको बताए ।

कमल थापालाई समर्थन गर्ने विषयमा आएको विज्ञप्ती वार्ता समितिको भएको भन्दै त्यो केन्द्र,संघ वा जिल्ला कुनै निकायले पनि आधिकारिक निर्णय नगरेको उनको भनाई छ । प्रल्हादजीकै सहमतिमा त्यस्तो भएको हो, उनले भने । पत्रकारहरुले अब तपाइहरुको मत कसलाई जान्छ त भनी सोधिएको प्रश्नमा विजयले आँखा चिन्हमै आफ्नो समर्थक र आम कार्यकर्ता शुभचिन्तकको मत जाने बताए । हामी कमल थापा वा अरु कसैलाई पनि समर्थन गर्दैनौ, उनले भने ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सुदिप शिवाकोटी, नयाँ शक्तिका समानुपातिक उम्मेदवार जीवनमान मोक्तानलगायतकाको उपस्थिति रहेको कार्यक्रम तु खबरका प्रधान सम्पादक गिरिजा अधिकारीले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*