पसल–कवलका कारण सम्पदा पुनःनिर्माणमा बाधा
ललितपुर, ७ मंसिर । पाटन सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बसेका पसल–कवलका कारण पुनःनिर्माणको काममा बाधा पुगेको छ ।
यस क्षेत्रमा रहेको ठूलो घण्टामा मर्मत गर्नुपर्ने भए पनि पसल–कवलका कारण गर्न नसकिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो घण्टा बाँगिएको छ तर कवलका कारण काम गर्न गाह्रो छ ।” सम्पदा क्षेत्रमा अतिक्रमण गरेर पसल राख्दा स्वरुप पनि बिग्रिएको र पुनःनिर्माणमा बाधा पुगेको छ ।
कार्यालयसँगको समन्वयमा काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)ले भूकम्प पहिलेबाट नै स्मारकको पुनःनिर्माणको काम गरिरहेको छ । भूकम्पले यस क्षेत्रमा ठूलो क्षति पुगेपछि कोषले काममा तीव्र गति दिएको हो । ठूलो घण्टामा काम गर्न आवश्यक भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुुभयो, “हामी स्थानीय निकायसँग सहकार्य गरेर पनि पुनःनिर्माणको काम गर्नेछौँ ।”
विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रमा सुन्दरी चोकको पूर्वी भाग, मूल (दक्षिणी) तलेजु, योग नरेन्द्र मल्लको सालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको छ । उत्तरी मणिमण्डप, कृष्णमन्दिर, हरिशंकर मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर र दक्षिणी मणिमण्डपलगायतको स्मारकमा काम अहिले भइरहेको छ । -(रासस)
