पूर्व जनमुक्ति सेनाको घरमा हातहतियार र बिष्फोटक पदार्थ बरामद
मकवानपुर, ७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक जना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा बिस्फोटक पदार्थ फेला परेको छ ।
प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर २ सिद्धकाली बस्ने अन्दाजी वर्ष ३०–३२ को ईमानबहादुर थिङको घरबाट सो हातहतियार र विष्फोटक पदार्थ फेला पारेको हो । हाल फरार रहेका थिङ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनको घरमा मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा घर खानतलासी गरी हातहतियार तथा बिष्फोटक पदार्थ फेला परेको थियो ।
थिङको घरबाट कटुवा बन्दुक १ थान, कटुवा बन्दुकमा लाग्ने १२ बोरको गोली ३ राउण्ड, ३७ नम्बर डेटोनेटर ३ थान, २७ नम्बर डेटोनेटर २ थान, बिजुलीको तार २ सय मिटर, सकेट पाईप १ थान, सर्किट ब्याट्री २ थान, जिलेटिन पहेँलो रङको १०० ग्राम, डेटकट तार २ मिटर,बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३०० ग्राम फेला परेको छ ।
त्यस्तै कालो रङको बारुद १५० ग्राम, एस.एल.आर. राईफलको म्याग्जिन १ थान, ईन्सास राईफलको म्याग्जिन १ थान, राईफलको तेल २०० मि.लि., नेपाली सेना पाईन्ट थान–१ र सशस्त्र प्रहरीको चुस्ताको सर्ट १ थान, जनमुक्ति सेनाको कमब्याक्ट टोपी २ थान र ‘हाम्रो संश्लेषण’ र ‘साम्यवादका विशेषताहरु’ लेखिएको किताब १–१ थान फेला परेको प्रहरीले जनाएको छ । फरार रहेका थिङको खोजतलाश जारी छ ।
