चोरीको मोटरसाईकलसहित १ जना पक्राउ, २ जना आरोपीको खोजी हुँदै
मकवानपुर, ७ मंसिर । चोरी गरिएको मोटरसाईकलसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको हो । घटनामा संलग्न भएका आरोप लागेका दुई जनाको प्रहरीले खोजी गरिरहेको छ ।
बिहीबार ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट खटिएको प्रहरी टोलीले थाहा नगरपालिका वडा नं.७ गैरीगाउँस्थित सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा पकनेबाट डाँडाबास तर्फ जान लागेको सेतो रङको बा. ४२ प. ९४०७ नम्बरको अपाची मोटरसाईकल र निलो रंगको नम्बर नखुलेको अपाची मोटरसाईकलका चालकहरु सवारी साधन जाँच गर्ने प्रहरी टोलीलाई देखी मोटरसाईकलहरु सोही स्थानमा छोडी भागेका थिए । तरर प्रहरी टोलीले पिछा गरेर चोरीमा संलग्न मध्ये सिंह बहादुरमोक्तानलाई नियन्त्रणमा लिन सफल भएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट चोरीमा संलग्न अन्य २ जनाको बारेमा पत्ता लागेको छ । चोरी संलग्न भनिएको कैलाश गाउँपालिका वडा नं.७ बस्ने अन्दाजी बर्ष २० का बिजय मोक्तान र सोही स्थानमा बस्ने अन्दाजी बर्ष २२ को बिरसिंह मोक्तानको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
