गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

तु खबर संवाददाता
२०७४ मंसिर ६, बुधबार १७:०६
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा बुधबार भरतपुरमा झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

चितवन, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । स्व पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

वाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एवं स्व प्रकाश दाहालको शोक सभामा गीत गाउँदा गाउँदै अचेत भई उपचारका क्रममा हृदयाघातका कारण पाख्रिनको निधन भएको थियो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

माओवादी केन्द्रका अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै उहाँको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति भएको जनाउनुभएको छ ।

वक्तव्यमा पार्टीका केन्द्रीय सल्लाहकार, नेपाली प्रगतिवादी साहित्यिक एवं सांस्कृतिक आन्दोलनका धरोहर जनताका प्रिय गायक पाख्रिनको निधनले पार्टी स्तब्ध भएको जनाइएको छ । वक्तव्यमा भनिएको छ, ‘शोकको यस दुःखद क्षणमा हाम्रो पार्टी क. खुशीराम पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक एवं सहयोद्धामा गहिरो समवेदना व्यक्त गर्दछ ।’

वक्तव्यमा त्याग र निष्ठाका बिम्ब, जनताका प्रिय नेता एवं गायक पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाइएको छ । उहाँले देखाएको मार्गमा अविचलित रुपमा पार्टी अघि बढ्ने पनि वक्तव्यमा जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

विसं २००९ साल कात्तिक ९ गते गोर्खाको खरिबोटमा जन्मनुभएका पाख्रिनका एक श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका अर्का एक छोरा अमर पाख्रिन सशस्त्र द्वन्द्वका क्रममा २०६१ चैत ३ गते लम्जुङमा मारिनुभएको थियो । विसं २०३८ मा सगरमाथाको काखबाट भन्ने प्रगतिशील गीतबाट सांगीतिक यात्रा शुरु गर्नुभएका पाख्रिनका ५०० भन्दा बढी प्रगतिशील रचना प्रकाशित छन् । पाख्रिनको पार्थिव शरीरलाई तामाङ संस्कृतिअनुसार आजै अन्त्येष्टि गरिँदैछ । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा रहेको ज्ञानेश्वर सामुदायिक बनमा उहाँको अन्त्येष्टि गरिँदैछ ।

उहाँको हालको निवास भरतपुर महानगरपालिका–१९ रामपुरमा रहेको छ । निधनपछि मंगलबार घर लगिएको पाख्रिनको शवलाई आज बिहान श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ल्याइएको थियो ।-(रासस)

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा बुधबार भरतपुरमा झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर नारायण अधिकारी, चितवन, रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*