कुलमानको जयजयकार, वालुवाटारलाई जलन !

बलराम पुडासैनी
२०७७ आश्विन १,बिहीबार १९:०२

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को कार्यकाल सकिएसंगै प्राधिकरणमा उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइरालाले जिम्मेवारी पाएका छन् ।

उर्जा मन्त्रालयले बाह्रौँ तहका कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको छ र, कुलमानलाई अहिलेको लागि बिदा गरेको छ । प्राधिकरणमा कुलमान आएपछि मुलुकमा लोडसेडिङ्को अन्त्य भयो । आमजनताले लोडसेडिङ् हट्नुको जस उनैलाई दिए ।

पटक–पटकको नेतृत्वबाट जनअपेक्षा अनुसारको काम नभएपछि निराश बन्न पुगेका जनता कुलमानको कार्यकुशलताका कारण प्रभावित बने । आजित भएका जनताले राम्रो काम गर्नेको पक्षमा वकालत गर्नु पनि स्वभाविक नै थियो ।

मिडियाले पनि कुलमानप्रति नकारात्मक आलोचना कम गरेको देखिन्छ । उनका राम्रा कामका प्रचार धेरै भए । जसका कारण उनी चर्चाको शिखरमा पुगे । एक प्रकारले कुलमानको पक्षमा जयजयकार नै भयो ।

कुलमानको चर्चा यति चुलियो की राजनीतिज्ञ र उनका प्रतिस्पर्धीलाई औडाहा भएको स्पष्ट देखिन्छ । फलस्वरुप उनको पुनः नियुक्ति सरकारले गर्न चाहिरहेको छैन । सरकारले अहिले कुनै ऐन वा कानूनमार्फत् सार्वजनिक संस्थानहरुमा कार्यकारी प्रमुख नियुक्ति गर्न खुल्ला प्रतिस्पर्धा अनिवार्य गरेको देखिँदैन । जसको उदाहरण राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठको पुनः नियुक्तिलाई लिन सकिन्छ । श्रेष्ठलाई सोझै नियुक्ति दिइएको हो ।
त्यसैगरी नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा गुरुप्रसाद भट्टराईलाई मन्त्रिपरिषद् बैठकले बिनाप्रतिस्पर्धा ठाडै नियुक्ति गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएकै कारण श्रेष्ठ र भट्टराईले कुनै पनि प्रतिपर्धामा भाग लिनु परेन । तर, कुलमानले भने पुनः नियुक्ति पाएनन् ।

त्यसो त उनलाई दोस्रो कार्यकालको लागि नियुक्ति दिन नहुने वा नमिल्ने भरपर्दो कारणका बारेमा सरकारले आमजनतासामु सार्वजनिकसमेत गर्न सकेको छैन ।

‘हिरो बन्न खोजे कुलमान’

राजनीतिज्ञले कुलमानमाथि ‘हिरो बन्न खोजेको’ आरोप लगाउँदै आएका छन् । लोडसेडिङ अन्त्य हुनुको जस उनी एक्लैले लिएर हिरो बन्न खोजेको आरोप उनीमाथि छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र जनादर्न शर्मा उर्जा मन्त्री हुँदा कुलमान प्राधिकरणका कार्यकारी निर्देशक भएका हुन् । त्यसैले कुलमानले बिजुलीका ठेकेदारसँग प्रचण्डका लागि आर्थिक स्रोत जुटाइदिएको भन्ने आरोप पनि उनीमाथि छ । त्यो विषय साँचो हो वा होइन समयले पुष्टि गर्दै लैजाला ।

विद्युत प्राधिकरणको पैसामा उनले आफ्नो प्रचारप्रसार गरेको भन्ने आरोप पनि उनीमाथि छ । तर, जे होस्, उनको आगमन पछि लोडसेडिङ जादुमय तरिकारले अन्त्य भएकै हो । त्यसपछि जनताले उनको जयजयकार गरेका हुन् । उनले लोडसेडिङ अन्त्य हुनुको जस विभागीय मन्त्री, प्रधानमन्त्री पूर्व सरकारदेखि वर्तमान सरकारसम्मलाई दिएका थिए ।

कुलमान र अन्य ब्यक्तिमा के कुरामा फरक छ भन्ने उदाहरण दिन चाहन्छु । गतबर्ष कुलेखानी जलाशय भरिएर बाँधको ढोकामा क्षति पुग्न लागेको भन्दै कुलेखानीको बाँधको ढोका खोल्ने बिषयमा बहस भयो । त्यही समयमा मकवानपुर, ललितपुर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले कुलेखानीको बाँध फुट्ने खतरा भएको भन्दै बाँधको ढोका खोल्ने तयारी भएकाले कुलेखानीको तल्लो तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन सूचना जारी गरियो ।

तर, कुलमानले बाँधको ढोका खोल्न दिएनन् र कुलेखानीबाट चौबिसै घण्टा संचालनमा ल्याएर ९२ मेघावाट विद्युत उत्पादन गरेर भारतलाई बिक्री गर्ने निर्णय लिएका थिए । हो यही कुरामा कुलमान र अन्य ब्यक्तिमा फरक छ ।

यसरी हट्यो लोडसेडिङ

हामी आमउपभोक्ताले दिनमा १८ घण्टासम्म लोडसेडिङको पीडा भोग्यौं । प्राधिकरणमा कुलमानको आगमन पछि जनताले उज्यालोको अनुभूति गरेका छन् । लोडसेडिङ. हट्नुको पछाडि विभिन्न कारण छन् । नेपालमै निजी क्षेत्रबाट सञ्चालित नयाँ आयोजनाबाट थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, हिँउखोला पग्लिएर करिब ५० मेगावाट बिजुली थप उत्पादन भएको थियो ।

नेपालमा ५ वटा ‘डेली फिलिङ’ कालीगण्डकी चिलिमे, मर्याङ्दी, माथिल्लो र मध्ये मर्साङ्दीलगायतका आयोजना छन् । उनले यी आयोजनालाई पूर्णक्षमतामा संचालन गरे, जसका कारण ३ सय ५० मेगावाट बिजुली थप उत्पादन भयो । यसअघि ति आयोजनालाई कसैले पनि पूर्णक्षमतामा संचालन गरेको थिएनन् ।

ती आयोजनाको मर्मतसंहार गर्ने तालिका पनि कुलमानले परिवर्तन गरिदिए । उनले ९२ मेगावाटको कुलेखानीलाई पनि आवश्यकता अनुसार संचालन गरे । उनी प्राधिकरण आउँदा विद्युत चुहावट २६/२७ प्रतिशत थियो क्रमश उनले त्यसलाई १६ प्रतिशतमा झारे । विद्युत चुहावट निकै ठूलो समस्याको रुपमा देखापरेको थियो । उनले चुहावट रोक्न कडाइका साथ कदम अगाडि बढाए ।

चुहावटमा संलग्न भएको भन्दै उनले १५ जना कर्मचारीलाई त जेल नै पठाए । भारवहन केन्द्रमा धेरै रात आफैँ बसेर सहरका विभिन्न स्थानमा मागअनुसार बिजुली आपूर्ति र माग नभएका ठाउँमा कटौती गरे । उनको व्यवस्थापकीय कार्यकुशलताकै कारण लोडसेडिङ्को अन्त्य भयो ।

कुलमानको पुनः नियुक्ति नहुनुले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीचको तिक्ततालाई स्पष्ट पारेको छ । एकअर्कालाई कमजोर बनाउने कसरतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष लागिपरेका छन् भन्ने कुरा उदांगिएको छ ।
कुनै पनि प्रशासक वा कर्मचारीलाई कुनै पनि जिम्मेवारीमा नियुक्त गर्ने वा नगर्ने भन्ने विषयमा जायज कारणहरु हुन्छन् जसका आधारमा नियुक्ति गर्न वा नियुक्ति भएकालाई हटाउन पनि सकिन्छ । शासनसत्ता चलाउनेले नै मनोमानी तरिकाले पूर्वाग्रह राखेर कसैलाई लाखा र कसैलाई पाखा गराउन मिल्दैन ।

भ्रष्टाचारमा लिप्त भएका र विभिन्न काण्डमा मुछिएका नेता कार्यकर्ताले दसकौँसम्म सांसद, मन्त्री बन्न पाउने, सम्धीहरुले सातपटक फरक/फरक पोष्टमा नियुक्ति खान मिल्ने अनि राम्रो काम गर्ने क्षमतावान् मानिसलाई दोहोरिन के कुराले अवरोध ग¥यो ? प्रधानमन्त्रीले आमजनतालाई यसबारे स्पष्ट पार्नुपर्छ ।

कुलमान, डा. गोबिन्द केसी, महाबीर पुन, सन्दुक रुईत जस्ता ब्यक्तिसँग सत्ताधारी जहिले पनि डराएको देखिन्छ । आखिर उनीहरुले सरकारलाई डराउन पर्ने के काम गरेका छन् र ? मात्र स्वार्थरहित रुपमा आफ्नो जिम्मेवारी पूरा गरेका न हुन् । अगाडि–पछाडि भ्रष्टैभ्रष्टहरुको भीडमा बसेको सत्ताधारीहरुलाई निस्वार्थ रुपमा काम गर्ने ईमान्दार छबि भएका मानिससँग किन डर पैदा हुन्छ त ? उत्तर सहजै छ । भ्रस्टाचारीको चङ्गुलमा फसेको सरकारले ईमान्दारीपूर्बक काम गरेको देख्न चाहेन । कुरो यत्ति हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*