हुस्सु बन्न पुगेको भावुक पल

सञ्जय मित्र
२०७७ भाद्र १६,मंगलवार ०८:२५

यस्तो शायदै कसैलाई कहिल्यै हुँदो हो । यदि कसैलाई यस्तै हुँदो हो त मभन्दा अझ धेरै हुस्सु हुँदो हो । मलाई जस्तो अरुलाई पनि हुँदो त मैलेजस्तै अनुभूति गर्दाे हो वा पृथक, त्यो त अनुभूति गर्नेले नै थाहा पाउँदो हो । अझ मजस्तो प्राप्त अनुभूतिलाई कसैलाई बताउँदो वा सार्वजनिक गर्दो हो त अन्यले पनि थाहा पाउँदा हुन् । अलिकति पनि नसोचेको, अलिकति पनि सुइँको नपाएको र अलिकति पनि अनुमान नलगाएको सुघटना यदि हुन्छ र त्यो पनि सयौँजनाका अगाडि एउटा प्रतिष्ठित मञ्चमा तब मनको भाव कसरी अनुहारमा आउँछ र कसरी शारीरिक भावमा मिसिएर प्रकट हुन्छ, त्यो यस प्रकारको सुघटनाको शिकार हुनेलाई राम्ररी थाहा हुनुपर्दछ ।

आयोजकले पनि कत्ति विश्वास गर्न सकेको ? पहिले कुनै सङ्केतसम्म पनि त गर्नुपर्दछ नि । अहँ, छैन । अझ प्रमुख अतिथिलाई पनि त्यसबारे जानकारी छैन । आयोजकले कम्तीमा यो कुरा विचार गर्नुपर्ने हो कि जसको लागि यो तयार पारिँदैछ, उसलाई यस कुरामा चित्त बुझ्छ कि बुझ्दैन ? चित्त नबुझेर एकैचोटि मञ्चबाट सुनेर अस्वीकार पो गरिदिने हो कि ? अस्वीकार गरेको स्थितिमा आयोजकले कस्तो अनुभूति गर्नुपर्ने हो ? एउटा प्रतिष्ठित सार्वजनिक मञ्चमा उभिएर अस्वीकृतिको सन्दर्भमा अवमानना पनि हुन सक्छ । यसको रिस्क पनि छ । अथवा कतैबाट विरोध भयो भने पनि त आयोजकको मनमा ठेस लाग्न पुग्दछ ।

त्यस्तै डेढ सय जति सहभागी थिए होलान् कार्यक्रममा । हेटौँडाको बसपार्कनजिकैको एउटा हलमा कार्यक्रम थियो । कार्यक्रममा गन्यमान्यहरुको उपस्थिति स्वाभाविक हो । हेटौंडामा एउटा कुरो देखिएको छ भने पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि हुने खालका मानिस जहिले पनि दर्जनभर हुन्छन् । प्रमुख अतिथि एक जनालाई बनाइने हो र बाँकी सबै अतिथि हुन्छन् । अतिथिहरु मञ्चमा र अन्य सहभागीहरु अगाडि बसेका हुन्छन् । दर्शक दीर्घा वा स्रोता दीर्घामा बस्नेहरु पनि आफ्नो ठाउँका आफ्नो क्षेत्रका नाम चलेका व्यक्तिहरु नै हुन्छन् । यसप्रकारको कार्यक्रमको आयोजन गर्नु अधिकारीको विशिष्टता हो । हेटौँडामा उनको कार्यक्रम हुँदा कतिपयले मलाई किन निम्त्याइएन भनेर प्रश्न पनि गर्दछन् । सम्भवतः कार्यक्रमको लागि योग्य नदेखिनेलाई कुनै बहानामा बोलाउँदैनन् गिरिजाले । कार्यक्रमको आफ्नै भव्यता हुन्छ ।

आजको कार्यक्रमको आयोजक छ शक्ति एफएम हेटौँडा । आज २५ जेठ २०७० हो । म कार्यक्रमस्थलमा पुग्दासम्म सुरुआत हुनै खोजेको छ । यद्यपि तोकिएको समयभन्दा केही ढिलो भएको छ । रेडियोले हरेक घन्टा समयको जानकारी गराउने र आफ्ना सबै कार्यक्रमहरु ठिक समयमा स्रोतासमक्ष प्रस्तुत गर्ने भए पनि उही रेडियोकर्मीहरुले रेडियोको स्टुडियोभन्दा बाहिर आयोजन गर्ने कार्यक्रम भने रेडियोको जस्तै ठीक समयमा सुरु र ठीक समयमा समापन हुने रहेनछ । हाम्रो समाज मनोविज्ञान र भौतिक अवस्था दुवैको कारणले नै रेडियोको आयोजनमात्र होइन, अन्य कुनै पनि संस्थाले आयोजन गरेको कार्यक्रम एकदमै तोकिएको समयमा वा ठीक समयमा सुरु हुने रहेनछ । जहाँसम्म सम्झना छ, हेटौँडामा पञ्चरामको रामबाण द्वैमासिकले तोकेकै समयमा कार्यक्रम सुरु गर्ने र समापन गर्ने दुस्साहस गरेको थियो । जम्माजम्मी दुई घन्टाको कार्यक्रम भनेर निम्त्याइएका अतिथिहरु कार्यक्रम सकिएर चिया खाँदै गर्दा “ए, म त कार्यक्रममा ढिलो भएँ भनेर मनमनै सोच्दै थिएँ, सुरु नै भा रहेनछ” भन्दै मुस्कुराउँदै आएको र कार्यक्रम सम्पन्न भइसकेको भनेर सुनेपछि हिस्स बूढी खिस्स दात भनेजस्तै भएको देखेको छु । यो त ढेढ दशकपहिलेको वास्तविकता हो । एकदमै तोकिएको समयमा कार्यक्रम सुरु गर्न कहिलेकाहीँ आयोजकहरु नै पुगेका हुँदैनन् ।

तोकिएको समयमा आयोजकहरु आज कार्यक्रमस्थलमा पुगे कि पुगेनन् मलाई किन थाहा छैन भने म त सहभागी हुन रौतहटबाट पुग्नुपर्छ । सार्वजनिक बसले पु¥याउने हो । सबैभन्दा पहिले छुट्ने सार्वजनिक बसहरु समात्दा गरुडाबाट हेटौँडा पुग्दा साढे आठदेखि पौने नौसम्म हुने रहेछ बिहानको । कार्यक्रमको लागि मोबाइल सेलमा निम्तो त पहिलेदेखि नै थियो । आयोजकले आज पनि तीनपटक फोन गरिसकेका छन् – हिँड्न भो ? अहिले कहाँ हुनुहुन्छ ? अब कार्यक्रममा आइपुग्न कतिबेर लाग्छ ? एक युगसम्म हेटौँडा बसेर आफ्नो युवापनको मुख्य पसिना यहीँको शिक्षा र साहित्यको माटोमा बगाएको हुँ । यसकारण त्यत्ति अपरिचित हेटौँडा छैन मसित, मैले पनि हेटौँडालाई अपरिचित मान्दिन । किन किन अद्यपर्यन्त हेटौँडा मलाई आफ्नै लाग्दछ । अत्यन्त प्रिय लाग्ने अनेक कारणहरु पनि होलान् तर भाषा, साहित्य, शिक्षा र पत्रकारितामा हेटौँडाले मलाई पहिचान दिएको हो । ठाउँ दिएको हो । जहाँ आजको कार्यक्रम छ त्यहाँ पुग्न बसबाट ओर्लेर दुई मिनट हिँड्नु पर्दछ ।

अतिथिहरुको सूचीमा मेरो पनि नाम परेको रहेछ । बोलाइन्छु र मञ्चको एउटा कुनातिर राखिएको सुनौलो रङको लाग्ने कुर्सीमा बस्छु । मञ्चका सबै कुर्सी तथा सोफाहरू सुनौला रङले चम्किएका छन् । म बसेको कुनाबाट अगाडिका सबै ठाउँ राम्ररी देखिएका छैनन् तर शान्त यस हलमा कुर्सी खाली छैनन् । रेडियोले आयोजन गरेको कार्यक्रम भए पनि आसपासका जिल्लासमेतबाट साहित्यकारहरुको भव्य उपस्थिति छ । रेडियोको कार्यक्रमजस्तो अनुभूति हुने नै छैन । स्टेशन म्यानेजर गिरिजा अधिकारीले बोलाएर सबै आएका हुन् कि प्रमुख अतिथिको नामको आकर्षणले साहित्यकारहरुको जमघट भएको हो ? कारणमा दुवैको सम्मिश्रण हुुनुपर्छ । देशकै खरो वा खस्रो लेखनको उत्कर्षमा रहने चर्चित साहित्यकार खगेन्द्र सङ्ग्रौलाको नामै काफी छ । सङ्गौलाको लेखनीको व्यक्तित्व र मोहनी अद्यपर्यन्त पाठकहरुमा उत्तिकै रहेको छ । अझ साहित्यकारहरुमाझ उनीप्रतिको चुम्बकीय आकर्षण उनको विश्लेषकीय गुणले नै हुुनुपर्छ ।

उत्कर्षमा कार्यक्रम । मन्तव्य, रचना र सम्मान सबै चलिरहेका छन् । अलिकति पनि असन्तुलन कतै देखिँदैन । हो, रेडियोको कार्यक्रमजस्तो पूर्णतया व्यवस्थित । कार्यक्रम सुरु भएपछिको हरेक सेकेन्ड यस्तो छ अपलक हेरिरहूँ । यस्तो कार्यक्रमको विशेषता के हुन्छ भने कानेखुसी हुन पाउँदैन । सबैको ध्यान मञ्चतिर हुन्छ र छ अहिले पनि । कार्यक्रममा एउटा पुरस्कार पनि छ । पुरस्कारको नाम के हो ? घोषणा गरिएको छैन ? एकपटक नारायणी अञ्चलस्तरीय पुरस्कार हो भनेर सुनिन्छ । रेडियोको कार्यक्रम हो । स्वाभाविक रुपमा पत्रकारितासित होला भन्ने अनुमान हुन्छ । पत्रकारिताका साथै साहित्यिक क्षेत्रका अत्यधिक प्रतिष्ठितहरुको जमघट छ । पुरस्कार कसलाई दिइने हो ? घोषणा गरिएको छैन ।
उत्कर्षमै रहेको समयमा अब पुरस्कार घोषणाको पालो आएको बताइन्छ । पुरस्कारको नाम हो – नारायणी साहित्य सम्मेलन सम्मान २०७० । त्यसपछि पुरस्कार प्रदान गरिदिनका लागि आग्रह हुन्छ प्रमुख अतिथि सङ्ग्रौलालाई । सङ्ग्रौला अगाडि उभिन्छन् । मञ्चमा माइक समातेर स्टेशन म्यानेजर अधिकारी भन्दछन् –“यो पुरस्कार कसलाई दिइँदैछ भन्ने कुरो रेडियोका अध्यक्ष र म कार्यक्रम संयोजकबाहेक कसैलाई जानकारी छैन । यो पुरस्कार कसले पाउँदैछन् भन्ने घोषणा गर्नुअगाडि यस सम्मानपत्रमा लेखिएको व्यहोरा पढ्न चाहन्छु ।” सम्मानपत्रमा लेखिएको व्यहोरा यसरी वाचन गरिएको छ –“नारायणी साहित्य सम्मेलन सम्मान २०७० । हेटौँडा मकवानपुर । श्री … … । नारायणी अञ्चलमा रही भाषा साहित्यको उन्नयन र विकासमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै नारायणी साहित्य सम्मेलन २०७०को अवसरमा तपाईँलाई नगद रु. ५००१।– सहित नारायणी साहित्य सम्मेलन सम्मान २०७० प्रदान गरिएको छ । २५ जेष्ठ २०७० । आयोजक शक्ति एफएम १०३.४ मेगाहर्ज । सहआयोजक साहित्य संगम मकवानपुर, प्रलेस मकवानपुर, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान, गजल मञ्च मकवानपुर, मातृभूमि साहित्य समाज । कार्यक्रम संयोजक गिरिजा अधिकारी, स्टेशन म्यानेजर शक्ति एफएम १०३.४ मेगाहर्ज ।”
चाँदी फ्रेममा सजाइएको सम्मानपत्र छड्के देखिन्छ म बसेको ठाउँबाट । हलभरि खचाखच मान्छेबीच भरिएको कौतूहलपूर्ण सन्नाटा छ । प्राप्तकर्ताको नाम घोषणा गरिएको छैन । सम्मानपत्र प्रमुख अतिथि सङ्ग्रौलाको हातमा पुग्दछ । सबैको कौतूहललाई अझ चरमतिर पुर्याउने शैलीमा छ मन्तव्य, प्रस्तुति र परिवेश । चरमोत्कर्षमा कौतूहल पु¥याएर नामोच्चारित हुन्छ – “साहित्यकार सञ्जय साह मित्र ।”

मेरो मनोदशा सर्वथा अवर्णनीय छ । जडवत्, मूर्तिवत्, वाणीविहीन छु म । हलभरिको ताली पनि बज्दैछ तर मलाई कतै राप्ती खोलामा बजेको जस्तो लागिरहेछ । सँगै बसेको एकजनाले – दाइ, अगाडि जानु न । भनेपछि झस्किँदै लुलो खुट्टो उठेजस्तो गर्छ । रेडियो प्राविधिकले बधाईका शब्द र सङ्गीत बजाइरहेका छन् । अझै पनि गुञ्जिरहेको छ मेरो कानमा ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*